गृहपृष्ठ ओलीले प्रचण्डलाई सोधे- हाम्रो सम्बन्ध बिग्रन थालेको हो र !
ओलीले प्रचण्डलाई सोधे- हाम्रो सम्बन्ध बिग्रन थालेको हो र !
‘भेनेजुयलाका विषय’लाई लिएर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षहरुबीच सम्बन्ध चिसिएको टिप्पणी बाहिरिन थालेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री एवं केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ‘प्रचण्ड’ले निकालेको ‘भेनेजुयला विज्ञप्ति’माथि ओलीले ‘शब्द चिप्लिएको’ टिप्पणी गरेपछि राजनीति थप तरंगित बनेको थियो, जबकि प्रचण्डले आफूले सोचविचार गरेर वक्तव्य जारी गरेको र त्यसमा आफू अडिग रहेको बताइरहेका छन् ।
बाह्य जगतमा अनेक अनुमानित टिप्पणी भइरहँदा शनिबार अध्यक्षद्वय ओली र प्रचण्ड छलफलमा बसेका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटघाटमा ‘बजारे टिप्पणी’लगायतका विषयमा दुवै अध्यक्षले खुलेर छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली डाभोसमा रहँदा भेनेजुयलाको संकटका विषयमा प्रचण्डले अमेरिकाको सामाज्यबादी कदम भन्दै विज्ञप्ति जारी गरेका थिए । नेपाल फर्किएपछि प्रधानमन्त्रीले प्रचण्ड भाषागत रुपमा चिप्लिएको टिप्पणी गरे । अर्कोतर्फ शुक्रबारमात्रै अध्यक्ष प्रचण्डले सरकारको कार्यशैलीप्रति चर्को आलोचना गरेपछि दुई अध्यक्षबीच चिसोपना बढेको अनुमानबीच शनिबार भेटवार्तामा बसेका छन् ।
भेटमा दुवै नेताबीच कुनै अन्योल रहन नहुने विषयमा छलफल भएको थियो । ‘सञ्चारमाध्यममा र टोलछिमेकमा हाम्रो सम्बन्ध बिग्रन थाल्यो भनेर चर्चा हुन थालेको छ, यसलाई लामो समय राख्न हुन्न, सम्बन्ध बिगार्न हुन्न,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो ।
जवाफमा प्रचण्डले सरकार र पार्टी सञ्चालनको विषयमा एकलौटी निर्णय भइरहेको भन्दै असन्तुष्टि जनाएका थिए । पार्टीको तल्ला तहको एकताका लागि गठित कार्यदलले काम नसकिरहेका बीच दुई अध्यक्षबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रकाशित समय ०६:५३ बजे

















