गृहपृष्ठ सरकारको १ वर्ष : बिहीबार प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने
सरकारको १ वर्ष : बिहीबार प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा फागुन २ गते बिहीबार अपरान्ह ४ बजे विशेष सम्बोधन गर्ने भएका छन् । सिंहदरबारको ग्यालरी बैठक अगाडि सो सम्बोधन गर्ने भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीको नामबाट निम्तो बाँडिएको छ ।
सम्भवतः प्रधानामन्त्री ओलीले विषेश सम्बोधनमाफर्त एक वर्षमा आफ्नो सरकारले गरेका कामका सूचीहरु सार्वजनिक गर्नेछन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक गएको फागुन ३ गते प्रधानमन्त्रीको बागडोर सम्हालेका थिए । अघिल्लो कार्यकालमा भनेजस्तो काम गर्न नपाएको भन्दै जनतासमक्ष चुनावी अभियान लिएर गएको तत्कालीन एमाले र एमालेसँग गठबन्धन गरेर एउटै चुनावी घोषणापत्रमा निर्वाचन लडेको तत्कालीन माओवादी केन्द्रको एकीकरण भएपछि प्रधानमन्त्री ओली अत्यधिक बहुमतको प्रधानमन्त्री बनेका हुन् ।
मधेसकेन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको समेत विश्वासको मत जितेपछि ओली सरकार दुई तिहाई बहुमत प्राप्त शक्तिशाली कार्यपालिका बनेको छ । नेपालको इतिहासमा अंकगणितीय रूपमा यत्तिको शक्तिशाली सरकार बनेको यो दोस्रोपटक हो ।
यसअघि २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको नेतृत्वमा बनेको सरकार पनि दुई तिहाईकै अंकगणित बोकेको थियो । तर त्यतिबेला तत्कालीन राजा महेन्द्र शाहले कू गरेर दुई वर्षमै शासन आफ्नो हातमा लिएका थिए ।
अहिले गैर लोकतान्त्रिक ढंगबाट कू गर्ने त्यस्तो कुनै शक्ति केन्द्र नदेखिए पनि वर्तमान सरकारले भने जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भएको छ ।
यद्यपि प्रधानमन्त्री निकटका नेताहरु भने सरकार सफल हुने पर्याप्त आधार तयार भएको दावी गर्छन् । वित्तीय र जनशक्ति व्यवस्थापन गर्दै सरकारले पहिलो वर्षमा संघीयताको पूर्ण कार्यान्वयन मात्र गराएको छ ।
३ सय ३९ वटा कानून निर्माण, संशोधन, परिमार्जन वा अद्यावधिक गर्दै संविधानको पूर्ण परिपालनाको आधारशीला खडा गरेको छ । यसबीच सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्प पूरा गर्न जग-निर्माण गरेको छ ।’
प्रकाशित समय १४:१५ बजे
















