गृहपृष्ठ प्रधानमन्त्रीले देशबासीलाई गरेको सम्बोधनका १२ रमाइला किस्सा

प्रधानमन्त्रीले देशबासीलाई गरेको सम्बोधनका १२ रमाइला किस्सा

संविधान कार्यान्वयन ‘यो त भन्ने कुरा न हो’ जस्तो होइन

pm_kp_oli

प्रधानमन्त्री केपी शर्मा ओली भाषणमा माहिर छन् । प्रधानमन्त्री भएपछि धेरै महत्वकाक्षी घोषणा गरेको भन्दै उनको आलोचना पनि भएको छ । तर, पनि उनको शैली फेरिएको छैन ।

बिहीबार आफू नेतृत्वको सरकारको बर्षदिन पुगेको अबसरमा देशबासीको नामा गरेका सम्बोधनमा पनि उनले रोचक किस्सा भन्ने पूरानै शैलीलाई निरन्तरता दिए । उखान टुक्का तथा रोचक किस्सा हालेर गर्ने उनको सम्बोधन र राजनीतिक घटनाक्रमबारे तिखो टिप्पणीले उनको भाषणा सुन्न धेरैलाई मन पर्छ । उनको भाषणाको जती प्रशंसा हुने गर्छ आलोचना पनि हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीको बोली कुनै बेला गोलीजस्ता हुन्थे । अहिले एकै पार्टी भएको तत्कालीन माओवादी र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भन्न बाँकी नराख्ने क्षमताका उच्चकोटीका थोरै नेतामा पर्थे ओली । विगतमा सत्ताबाहिर हुँदा अरु नेतृत्वको सरकारलाई व्यंग्य बाँण हानेर घायल बनाउने र आफू सत्तामा हुँदा विपक्षीलाई समेत मुर्छित बनाउने उनलाई छुच्चो र रुखो बोल्ने भन्नेहरू पनि छन् ।

आफ्नो कार्यकालको बर्ष दिन पुगेको सन्दर्भमा भने उनले बिपक्षी कांग्रेसप्रति विगतका भन्दा अलि सफ्ट रुपमा कटाक्ष गरे । सरकारको वर्ष दिनको प्रगतिसँगै योजना र व्यंग्य सहितको केही किस्सा सुनाएका छन् । तीमध्ये केही यस्ता छन् ।

 

१. कानुनका नौ सिङले लोकतन्त्रलाई उधिन्यो

स्मरण गरौं, गत वर्ष आजको दिन । आम निर्वाचन सकिएको ३ महिना वितेको थियो । जनमतले ‘तिम्रो मिति पुग्यो’ भनेकाहरू अझै सरकारमै थिए । झण्डै दुई तिहाई जनमत सहित शासनको वागडोर सम्हाल्न तयार रहेको मेरो नेतृत्वको गठबन्धनलाई वैध सत्ता हस्तान्तरण गर्न त्यो पक्ष आनाकानी गरिरहेको थियो । तीन महिनादेखि कानुनका नौवटै सिङले हाम्रो लोकतन्त्रलाई बारम्बार उधिनीरहेको थियो ।

आम जनमत ‘अब त अति भयो’ भन्ने तहमा थियो । जिम्मा लिने पक्ष तयार थियो, तर छोड्नु पर्नेमा भने ‘यो के अनर्थ भयो’ भनेजस्तो विस्मयकारी मनस्थिति कायमै थियो ।

 

२. जग खन्न अबरोध गर्नेहरूले ‘खै घर बनाएको ?’ भने

जग खन्दा तल्ला र छानाको परिकल्पना त गरिन्छ । तर कसैले जगलाई नै हेरेर खै त चोटा/कोठा, खै छाना भन्यो भने कसको के लाग्छ ? मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेहरूले नै ‘खै घर बनाएको ?’ भनेर गरिएका प्रश्नलाई अहिले हामी सामना गरिरहेका छौं । यस्ता प्रश्नमा प्रतिक्रिया किन दिउँ भन्ने म ठान्दछु ।

 

. संविधान कार्यान्वयन ‘यो त भन्ने कुरा न हो’ भनेजस्तो होइन

कानुनहरूको निर्माण यस वर्षको अर्को आधार हो । संविधान, हाम्रो मूल कानुन हो । त्यसले जे जे भनेको छ, त्यसलाई कार्यान्वयनमा ल्याउनु सरकारको दायित्व हो । संविधान बनेपछि म पहिलो पटक प्रधानमन्त्री भएँ, ९ महिना नपुग्दै हटेँ । ०७५ भदौ १ गतेबाट मुलुकी संहिताहरू लागु हुनुपर्ने र असोज २ भित्र संविधानको धारा १६ देखि ४८ सम्मका मौलिक हक कार्यान्वन गर्ने कानून निर्माण हुनुपर्छ भन्ने मैले सरकार छोडेपछिका सरकारलाई पनि थाहा थियो ।

जतिखेर म सरकारमा आएँ, मुलुक ती कामहरू कार्यान्वयन गर्ने सरकारको प्रतीक्षामा थियो । संविधानमा लेखिएका कुराहरू एउटा गीत ‘… यो त भन्ने कुरा न हो’ भनेजस्तो होइन, गर्ने कुरा हो भन्ने विश्वास जनतामा जगाउनु मेरो कर्तव्य थियो । त्यसैले मेरो नेतृत्वको सरकारले सरदर ५ दिनमा एउटा विधेयक मस्यौदा गरी त्यो लक्ष्यलाई पुरा गर्यो ।

 

४. जसलाई प्रगतिले पोल्यो, उनीहरूले ‘मिथ्यांक’को होहल्ला गरे

गत पुस २२ गते प्रतिनिधिसभामा सम्बोधन गर्दा मैले केही तथ्याङ्क उल्लेख गरेको थिएँ । मेरा भनाईलाई अंकमा हैन भावमा सुन्न रुचाउनेहरूले ‘प्रधानमन्त्रीले तथ्यांक’ बोल्ने भन्दै प्रश्न गर्नुभयो । जसलाई सरकारले गरेका प्रगतिले पोल्यो, उनीहरूले त्यसलाई ‘मिथ्यांक’को रुपमा होहल्ला गरे । यस्तो सुनिन्थ्यो, नेपाल भन्ने एउटा यस्तो मुलुक छ, जहाँका जनताको नियति भनेकै विग्रेको, भत्केको, उजाडिएको सुन्नु हो । यो मुलुकमा प्रगतिको अंक बोल्ने ? त्यो त तथ्यांक नै हैन, मिथ्यांक हो …।

 

५. गर्नेका लागि हावा पनि आम्दानीको रुपमा उपस्थित हुन्छ

मैले पटक पटक हाम्रा पुर्खाको वौद्धिक क्षमता र हाम्रो भूभागको भौगोलिक, जैविक लगायतका विविधता, प्राकृतिक स्रोतको सम्पन्नता बारे चर्चा गर्ने गरेको छु । हाम्रो खनिज क्षमताको चर्चा गरिरहँदा एकजना हितैषिले भन्नुभयो- ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’, भाषणले हुन्छ ? हो, भाषणले मात्र हुँदैन । गर्नुपर्छ । गर्न तयार हुनुपर्छ । नगर्नेका लागि केही पनि हुँदैन, गर्नेका लागि आँखाले नदेख्ने हावा पनि आम्दानीको रुपमा उपस्थित हुन्छ ।

 

६. ९ औं महिनामा सरकार फाल्ने बानी परेका हामीहरूलाई …

हाम्रो एउटा अनौठो बानी छ, ९/९ महिनामा नयाँ सरकार हेर्ने । सरकार बनेको ३ महिना चुप लाग्ने, अर्को तीन महिना खै त काम भन्ने र ९ औं महिनामा सरकार फाल्ने । यस्तो बानी परेका हामीहरूलाई सरकारले कामै गरेर एक वर्ष कटायो भन्दा पनि अनौठो लागेको हुनसक्छ भन्ने म अनुमान गर्न सक्दछु । आज जे-जे प्रश्नहरू म सुनिरहेको छु, ती ‘नौ-महिने’ अनुभवमा आधारित प्रश्नका सार पो हुन् कि ? यदि यस्तै हो भने- विनम्र अनुरोध गर्दछु, बानी फेरौं । नयाँ बानी पारौं ।

 

७. हाम्रा योजना, त्यो तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भने जस्तो हो र ?

पदार्थले चेतना दिन्छ । बस्तु नदेखी त्यसको आकार आँकलन कमैले मात्र गर्न सक्छ । त्यसैले पनि हुनसक्छ नेपालमा पानीजहाज, जल परिवहन र रेल यातायातको चर्चा गर्दा ‘यस्तो पनि भन्ने’ जस्ता प्रश्न उठे ।  हवाइजहाजले यस धर्तीलाई परिक्रमा गरेको गर्यै छ । समुद्रमा जहाज कुदेको कुदै छ, नदीहरूको बाटो हुँदै तिनीहरूले फन्को मारिनै रहेकाछन् । हामी पनि चलाऊँ न भन्दा सपना मात्रै किन ठानिन्छ ?  के यी हाम्रा योजनाहरू, नारायण गोपाल-अरुणा लामाले गाएको गीत जस्तो ‘… त्यो तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भने जस्तो हो र ?

 

८. ‘पानी जाहाजको अड्डा खुलेछ, टिकट काट्न जाऔं कि ?

आज विहान मात्रै मैले पानीजहाज कार्यालय उद्घघाटन गरेँ । त्यो रमाइलोका लागि हैन, जहाज चलाउनकै लागि हो । भोलिबाट फेरि कसैलाई गिज्याउन मन लाग्ला र भनिएला–‘अड्डा खुलेछ, टिकट काट्न जाऔं कि ?’ म पनि ठट्टा गरौं ? ‘त्यो टिकट काट्ने अड्डा हैन नजानुस् । टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ । खबर मैं गरौंला ।’

 

९. स्वाधीन देश परनिर्भर रहेको सन्देश दिएर रमाउने प्रवृत्ति देख्दा दुःख लाग्छ

यस वर्ष मैले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गरें । हामी आफैँले नेतृत्व गरेको मौलिक प्रकृतिको शान्ति प्रक्रिया आधारभूत रुपमा टुङ्गिएको मैले स्मरण गराएँ । नेपालको यो अनुभव, द्वन्द्वमा फसेका मुलुकहरूका लागि अनुकरणीय सन्दर्भ हुनसक्ने विश्व जनमत रहेको मैले पाएँ ।

यसै विषयलाई लिएर उटपट्याङ् टिप्पणी गरियो, त्यो पनि पढ्न/लेख्न जान्ने, आफूलाई ‘ओपिनियन मेकर’ भन्न रुचाउनेहरूबाट । अघि बढिरहेको आफ्नो मुलुक ओरालो लागेको र स्वाधीन देश परनिर्भर रहेको सन्देश सम्प्रेषण गरेर रमाउने यस्तो प्रवृत्ति देख्दा दुःख लाग्छ ।

 

१०. ज्यालाबाट ब्रम्हाण्ड नै किन्न सकिन्छ त म पनि कहाँ भनिरहेको छु र

यहीँनेर ‘महंगी अचाक्ली बढ्यो । के यही दिन देख्न हामीले लोकतन्त्र ल्याएका थियौं ?’ जस्ता तर्क गर्नेसँग थोरै सम्वाद गर्न चाहन्छु । बेसाहा सस्तो छ, ज्यालाबाट ब्रम्हाण्ड नै किन्न सकिन्छ त म पनि कहाँ भनिरहेको छु र ? तर तुलना त हिजो र आजको बीचमा हुनुपर्ने होला नि ! तपाईंहरू नै भन्नुस् न त, अहिले औसत मुद्रास्फिति ४.२ प्रतिशत छ, गत साल कति थियो ? यो मुद्रास्फिति स्वभाविक सीमा भित्र छ कि छैन ?

 

११. हिजो भ्रष्टाचार गर्नेहरू आज क्रुद्ध छन्

अहिले सुशासनका संयन्त्रहरू क्रियाशील भएका छन् । हिजो भ्रष्टाचार गर्नेहरू आज क्रुद्ध छन् । भ्रष्टाचार गर्न तम्सिनेहरू तर्सिएका छन् । कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर दुलो गौंडा चाहार्नेहरू मुर्मुरिएका छन् । अनौठो लाग्छ, हिजो भ्रष्टचार गरेर बयान दिन जानेहरू आज देशमा सुसाशन भएन भन्दै मिडियामा झुल्किन्छन् । फेरि पनि उही गीत सुन्छु- भ्रष्टमाथि कारबाही खै ?

 

१२. कतिपयलाई राजनीतिक स्थायित्व अभिसाप बन्यो

कतिलाई यही राजनीतिक स्थायित्व अभिसाप बनेको हुनसक्छ । त्यसैले  राजनीतिक स्थायित्वलाई तेजोवध गर्न कृत्रिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्यत छन् । समृद्ध नेपाल निर्माणको यस तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै आएका छौं, र तोड्दै जानेछौं पनि ।

प्रकाशित समय १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु