गृहपृष्ठ सरकार संघियताविरोधी भएको निधिको आरोप
सरकार संघियताविरोधी भएको निधिको आरोप
छिमेकी मात्र होइन मित्रराष्ट्रसँगको सम्बन्ध पनि बिग्रीयो
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार शक्तिकेन्द्रिकरण गर्न लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाको नगर सम्मेलनमा निधिले सरकारका ३ प्रमुख अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि हस्तक्षेप नगरी शक्तिपृथकीकरण गरिनुपर्नेमा सरकारले न्यायलयलाई कुण्ठित गर्दै शक्तिकेन्द्रिकरण गर्न लागेको दावि गरे ।
उनले प्रदेश र स्थानीय तहलाई संविधानले दिएको अधिकार अहिले पनि सरकारले सिंहदरबारमै सीमित राख्न चाहेको टिप्पणी गरे । देशमा संघियाताको अभ्यास भइरहँदा पनि एक वर्षको कार्यशैली देख्दा देश र जनताको भावना अनुसार सरकारले काम गर्न नसकेको उनको भनाइ थियो ।
सरकारविरूद्ध कडा रूपमा प्रस्तुत भएका निधिले सरकार संघियताविरोधी, लोकतन्त्रविरोधी, प्रदेशविरोधी, मधेशीविरोधी तथा जनविरोधी भएको टिप्पणी गरे । सरकारले दुई तिहाईको दम्भ देखाएको उनको आरोप थियो । ७ प्रदेशमध्ये ६ प्रदेशमा कम्युनिस्टहरुकै सरकार भए पनि आफ्नै पार्टी र नेताप्रति विश्वास नलागेर प्रदेशको अधिकार संघमै राख्न चाहेको उनको टिप्पणी थियो ।
सरकारले समृद्ध नेपाल सुखी नेपालको झुटो नारा ल्याएर देशलाई वर्वाद गर्न लागेको बताए । सरकारले वर्षौंदेखि विशेष सम्बन्ध रहेको भारत र मित्रवत सम्बन्ध रहेको चीन, पाकिस्तान, अमेरिका लगायतको देशसँगको सम्बन्ध बिगारेको उनको आरोप थियो ।
छिमेकी र विदेशी राष्ट्रसँग सम्बन्ध विगारेपछि नेपालमा लगानी गर्ने कहाँबाट आउने होला चिन्ता व्यक्त गर्दै नेता निधिले अहिलेसम्म जनतालेको मूल्यांकन गरी आउने चुनावमा कांग्रेसलाई सहयोग गर्न आग्रह गरे । उनले कांग्रेसले मात्र मुलुकको विकास गर्न सक्ने उल्लेख गरे ।
प्रदेश २ सरकारलाई सहयोग गरे पनि उल्टै कांग्रेसमाथि जाई लागेको भन्दै निधि प्रदेश-२का मुख्यमन्त्रीमाथि पनि खनिए । प्रदेश सरकारलाई अहिलेसम्म नेपाली कांग्रेसले सहयोग गर्दै आएको भए पनि प्रदेश सरकारले भने मधेशी जनताको भावनाअनुसार काम नगरेको बताए ।
प्रदेश सरकारलाई केन्द्रीय सरकारले अधिकारहरु प्रत्यायोजन नगरेका बेला प्रदेश २ सरकारले संसदमा ल्याएको प्रदेश प्रहरी विद्येयक र ऐनमा कांग्रेसले खुलेर सहयोग गरेको स्मरण गर्दै उनले कांग्रेस अर्थात आफूले तत्कालीन जनकपुर चुरोट कारखानाको भवन र जग्गा जोगाएर प्रदेश सरकारको लागि राखेको दावी गरे ।
प्रकाशित समय १७:४९ बजे

















