गृहपृष्ठ कार्यदल विघटनप्रति योगेशको आपत्ति

कार्यदल विघटनप्रति योगेशको आपत्ति

yogesh-newskarobar फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्यदल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्यदल विधान विपरित सचिवालय बैठकले विघटन गरेको तर्क गरे ।

भट्टराईले उक्त कार्यदललाई कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप लगाए । पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्वारा गठित कार्यदलका सदस्य समेत रहेका भट्टराईले सचिवालय बैठकको सो निर्णय दूर्भाग्यपूर्ण भन्दै आपत्ति जनाए ।

उनले पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सो सम्बन्धी निर्णय विधान विपरित रहेको र त्यसले कार्यदलले काम गर्न सके र नसकेको सही समीक्षा गर्न नसकेको आरोपसमेत लगाए ।

गत पुस १३ गतेको पार्टी स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्यदल गठन गरेको थियो । कार्यदलमा संयोजक थापासहित सदस्यमा महासचिव विष्णु पौडेल, शङ्कर पोख्रेल, रघुवीर महासेठ , वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र वेदुराम भुसाल रहेका थिए ।

प्रकाशित समय २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु