गृहपृष्ठ संघीयता मुलुकको आवश्यक : देउवा

संघीयता मुलुकको आवश्यक : देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने बताएका छन । मैथिली विकास कोषको आयोजनामा आजदेखि सुरु भएको जनकपुर साहित्य-कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दे देउवाले अब संघीयता देशको आवश्यकता भइसकेको उल्लेख गरे ।

उनले भने, ‘अब कुनै बहानामा कसैबाट संघियतालाई खतरामा पार्ने गरी कुनै गतिविधि वा हस्तक्षेप गर्ने प्रयास भए कांग्रेसलाई सह्य हुँदैन ।’ सरकारले अहिले विभिन्न बहानामा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने हिसाबले सामाजिक सञ्जालमाथि प्रहार गर्न खोजेको टिप्पणी गर्दै उनले यस्ता कदमले लोकतन्त्रलाई बल नपुग्ने बताए ।

पूर्वप्रधानमन्त्री देउवाले भने, ‘मेरो प्रधानमन्त्री कालमा मधेश र मधेशी जनताको भावनाको कदर गर्दै संविधान संशोधनको प्रयास गरे पनि सफल हुन सकेन । कांग्रेस अहिले पनि संशोधनका लागि तयार छ ।’ उनले नेपाली भाषापछि दोस्रो सबैभन्दा बढी बोलिने भाषा मैथिली भएको बताउँदै मैथिली भाषा आफैँमा समृद्ध रहेको उल्लेख गरे ।

जनकपुर पौराणिक कालदेखि नै समृद्ध रहेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘अहिले जनकपुरदेखि अयोध्यासम्मका लागि धार्मिक पर्यटन विकासका लागि आएको रामायण परिपथको अवधारणा सान्दर्भिक रहेको छ । यसबाट धार्मिक पर्यटनको विकास हुनुका साथै नेपाल-भारत र दुबै देशका जनताको सम्बन्ध प्रगाढ हुनेछ ।’

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश-२ को राजधानी जनकपुर र सरकारी कामकाजको भाषा मैथिली नै हुनुपर्ने बताए । निधिले सामाजिक संरचना र संघीय सिद्दान्तका आधारमा प्रदेशको आधिकारिक भाषा मैथिली, राजधानी जनकपुर र प्रदेशको नामांकन मिथिला वा मिथिला भोजपुरा हुनुपर्ने धारणा राखे ।

नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले मैथिली भाषा इतिहासको गौरव भएको बताए । उनले हरेक भाषा ज्ञान, उन्नति र चेतनाको राजमार्ग हुने भएकाले बौद्धिक विरासत कायम गर्नका लागि जागृतिको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा राजपा नेपालका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले मैथिली भाषाको पुनरुत्थानको आवश्यकता रहेको बताए । संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादवले मैथिली संस्कृति विश्वमै लोकप्रिय रहेपनि राज्यद्वारा उपेक्षित भएका कारण तिरहुत लिपी (मिथिलाक्षर) लोप हुने अवस्थामा पुगेकामा चिन्ता व्यक्त गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले मैथिली भाषा नेपालको दोस्रो भाषा भएकाले प्रदेशको कामकाजी भाषा मैथिली बनाउन सुझाव दिए ।

नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले मैथिली भाषालाई जातिगत भाषाको आरोप लगाई कमजोर र विभाजित गर्ने दुश्प्रयास भइरहेको उल्लेख गर्दै सचेत हुनु आग्रह गरे ।

भाषाविद् प्रा.डा. रामअवतार यादवले प्रदेश-२ मा नै मैथिली भाषाको विकासमा ध्यान पुग्न नसकेको बताए । साहित्यकार डा. राजेन्द्र विमलले प्राचीन गौरवको स्थापित गर्नका लागि ठोस नीति ल्याउनुपर्ने धारणा व्यक्त गरे । पूर्वप्राज्ञ रमेशरञ्जन झाले मैथिली भाषाका सन्दर्भमा संवैधानिक जटिलता भएको हुँदा नेपालमा दोस्रो बढी बोलिने भाषा भएर पनि उल्लेखितरुपमा विकास हुन नसकेको बताए ।

मैथिली विकास कोषको अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको उक्त समारोहमा साहित्य, समाज, कला, अर्थ, राजनीति, संस्कृति विषयमा विचारविमर्श, आधुनिक तथा लोककला प्रदर्शन, ललितकला, मिथिला चित्रकला, सिक्की, बाँस आदिको कलात्मक सामग्री प्रदर्शन गरिएको छ ।

छ दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल, भारत, आफगानिस्तान, बङ्गलादेशलगायतका नाटक प्रदर्शन, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी गरिनेछ ।

प्रकाशित समय १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु