गृहपृष्ठ च्यारिटो शो देखाउन गएका कलाकार युरोपमा लुके
च्यारिटो शो देखाउन गएका कलाकार युरोपमा लुके
केही समय अगाडि तमु समाज बेल्जियमले ल्होसारको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गर्यो जसको नारा थियो “शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ,परम्परा हराए मान्छे(जाति)हराउँछ । तर विडम्वना यो नारामा भनेजस्तै कार्यक्रममा आएका कलाकार नै हराएका छन् । अर्थात् कार्यक्रमपछि उनीहरू नेपाल नफर्की युरोपमा बस्ने कागजात बनाउन पुगेका छन् ।
कार्यक्रमको लागि नेपालबाट गएका गणेश गुरुङ जनवरी १६ तारिखमा नेपाल फर्के । तर उनीसँगै पुगेका अर्का कलाकार भनें नेपाल फर्किनुको सट्टा पोर्चुगल पुगे युरोपमा बसोबासको कागजात बनाउन । गणेश र ती दुवै कलाकारहरूव्यक्तिगत स्पोन्सरमा बेल्जियम आइपुगेका थिए ।
तमु समाज, बेल्जियमले उनीहरूको स्पोन्सर नगरे पनि मुख्य आयोजक संस्था थियो । तर एकजना कलाकार स्वदेश नफर्की अर्कै मुलुक पसेपछि तमु समाजले यसको जिम्मेवारी आफ्नो नभएको बताउन थालेको छ जबकि कार्यक्रमका लागि भने सो संस्थाले ठूलै प्रचारप्रसार गरेको थियो । यसरी एउटा कार्यक्रममा आएर स्वदेश नफर्की पोर्चुगल पस्ने यी पहिलो कलाकार भने होइनन् ।
अर्का एकजना नेमकुल थर भएका कलाकार सन् २०१६ मा बेल्जियम लगायतका देशहरूमा च्यारिटी कार्यक्रमको लागि भन्दै नेवारी फिल्म च्यारिटी सो लिएर आए र अन्त्यमा उनी पोर्चुगल पसे । हाल उनले त्यहाँबाट बसोवासका लागि आवश्यक कागजात बनाइसकेका छन् । एउटा संस्थाका संस्थापक उनीभन्दा पहिले अष्ट्रेलियामा बस्दथे । १५ महिना अगाडि पोर्चुगल पसेका उनले हाल त्यहाँको स्थायी बसोबासको कागजात बनाउन सफल भएका छन् ।
युरोपका विभिन्न मुलुकमा कार्यक्रममा आउने र स्थायी बसोवासका कागजात तुलनात्मक रुपमा बनाउन सहज हुने मुलुक पस्ने प्रवृत्ति मौलाउँदै गएको छ । केही समय अगाडि सामाजिक सञ्जालमा जनसम्पर्क समितिबाट नेपालबाट ल्याएर युरोपका केहि मुलुकमा पठाएको आरोप जनसम्पर्क समिति, युरोपका महामन्त्री गंगाधर गौतमले वर्तमान कमिटीलाई लगाएका थिए । बुझ्दै जाँदा समिति भित्रका केही व्यक्तिको सहयोगमा व्यक्तिगत तवरबाट त्यस्तो काम भएको भेटिएको जानकारहरू बताउँछन । तर यसमा कसैले कसैलाई कारवाही भने गर्न सकेनन् । केहि उदाहरण अचम्म लाग्दा प्रकृतिका छन् ।
घटना झण्डै दुई वर्ष अगाडिको हो । काठमाडौंबाट मोहन बराल, जानकी अर्याल र कृष्ण ढकालले बेल्जियमको लागि भिषा आवेदन दिए । अर्याल र बरालको भिषा लाग्यो भने ढकालको लागेन । ढकालका बाबु बेल्जियममा भएकै कारण भिषा नदिएको अनुमान छ । कलाकारका रुपमा बेल्जियम छिरेका बराल र अर्याल दुई रात बेल्जियमको लुभेन शहरमा बसेर तेस्रो दिन बराल पोर्चुगल गए भने अर्याल स्पेन पुगिन् ।
बरालको पोर्चुगलको पेपर बनिसकेको छ । उनीहरूको कुरालाई आधार मान्ने हो भने यहाँस्थित नेपाली संस्थाले नै स्पोन्सर गरेको देखिन्छ । यसै विषयमा आएको भिडियो क्लीप हेर्दा आगन्तुक व्यक्तिले उनलाई ल्याउन कुनै क्लबको नाम जोडेका छन् । यसबारेमा बुझ्न खोज्दा तमु समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङले यसरी कलाकार नेपाल नफर्किनुमा आफूहरुको जिम्मेवारी नभएको बताए ।
“तमु समाज बेल्जियमले ल्होछार कार्यक्रमको लागि निमन्त्रणा गरेको हो तर स्पोन्सर उहाँको बहिनी ज्वाईंबाट भएको हो,” उनले भने ।
उनका अनुसार कलाकार बेल्जियम आउने कुरा सुनेपछि तमु समाज बेल्जियमले स्टेज उपलव्ध गराउने भएको र त्यसका लागि पारिश्रमिक पनि उपलव्ध गराइएको थियो । समाजले आफ्नो दायित्व पूरा गर्दै १६ जनवरी, २०१९ मा विदाई गरेको तर १७ जनवरीमा ती कलाकार पोर्चुगल गएको सुन्नमा आएपछि त्यसका बारेमा बुझ्न फोन गर्दा सम्पर्क हुन नसकेको गुरुङले बताए ।
स्पोन्सर गरेर ल्याउने बहिनी ज्वाईंले नै यसको जिम्मेवारी लिनुपर्ने गुरुङको भनाई छ । तमु समाजका नन्द घलेले भने तमु समाजले १६ जनवरीमा औपचारिक बिदाई गरेर विभिन्न देशमा कार्यक्रम सम्पन्न नहुन्जेल समाजले समन्वय गर्ने काम मात्र गरेको जिकिर गरे ।
यसरी कलाकारको रुपमा युरोप आउनेहरु लुक्नु र अर्कै मुलुक पुग्नु समस्या भएको छ । एनआरएन, बेल्जियमका अध्यक्ष लोक दाहालले हाल युरोपमा आउने नेपालीले निकै दुःख कष्ट भोग्नु परेको भन्दै यसमा सचेत हुन आग्रह गरे । कुनै व्यक्ति आफ्नै रुचिले आएर बस्न खोजेमा त्यसमा आफ्नो सरोकार नरहेको भन्दै उनले सचेत गराउने भनें आफूहरुको दायित्व भएको बताए ।
उनले कलाकार देशको गहना भएका कारण यसरी बसिदिँदा राम्रो नहुने र कलाकारकै अपमान हुने धारणा राखे । बेल्जियमस्थित नेपाली दुतावासले बेल्जियमसँगै नेदरल्याण्ड र लक्जेम्बर्गलाई पनि हेर्ने गरेको छ ।
कलाकार आएर गायव हुने समस्यालाई लिएर राजदूत लोक बहादुर थापालाई जिज्ञासा राख्दा थापाले मान्छे ल्याएर ओभर स्टे गराउँदा वा भगाउँदा त्यसले भोलिका दिनमा सबै नेपाली प्रतिको सम्मान र ईज्जत घट्न सक्ने हुँदा सबै सचेत बन्नुपर्ने बताए । राजदूत थापाले भने “नेपाल र नेपालीको प्रतिष्ठामा आँच आउने गरी तथा जुन देशमा बसेको हो, त्यस देशको कानुनको बर्खिलाप हुने गरी कसैले र कुनै संघसंस्थाले पनि कुनै काम वा गतिविधि गर्नुहुन्न ।”
प्रकाशित समय १४:०० बजे

















