गृहपृष्ठ मिनेन्द्र रिजालले भने- सरकार राष्ट्रसंघलाई सबक सिकाउन लाग्यो
मिनेन्द्र रिजालले भने- सरकार राष्ट्रसंघलाई सबक सिकाउन लाग्यो
नेकपासँग नयाँ नयाँ जवानी छ, नयाँ नयाँ रंग
फाइल तस्बिर
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले भेनेजुएलामा जारी संघर्षका सम्बन्धमा नेकपा अध्यक्ष प्रचण्डले निकालेको विज्ञप्तीमा टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा रिजालले उक्त विज्ञप्तीमाथि टिप्पणी गरेका हुन् ।
‘अष्ट्रेलियन, जर्मनी, युरोपेली युनियन, फिनल्यान्ड, फ्रान्स, नर्वे, फिनल्यान्ड, स्वीट्जरल्यान्ड, युके, अमेरिका र संयुक्त राष्ट्रसंघ समेतलाई सबक सिकाउने खालको वक्तव्य आउँछ,’ रिजालले संसद बैठकमा भने, ‘अब कहाँ कहाँ जाने ? यही बाटोबाट अगाडि बढ्छ मुलुक ? दुनियाँका सबै मुलुकलाई ललकार्ने बाटोमा सरकार अगाडि हिडेको छ ।’
सरकारको पछिल्लो शैलीका कारण प्रतिपक्षमाथि जबर्जस्ती गर्नुलाई आफूहरूले धेरै अस्वाभाविक नमानेको उनको टिप्पणी थियो ।
सरकार र प्रधानमन्त्रीले कांग्रेस नदेखेको भनेको उल्लेख गर्दै उनले कांग्रेस नदेख्नेहरूले देख्न वाध्य भएको टिप्पणी गरे । ‘कांग्रेस देखेकै छैन भन्छ सरकारले, कांग्रेस देखेकै छैन भन्नुहुन्छ प्रधानमन्त्रीले,’ उनले भने, ‘हो कांग्रेस राणाहरूले पनि देखेनन्, जुन बेला देखे धेरै ढिला भइसकेको थियो ।’
दुई कम्युनिस्ट पार्टीले चुनाब अघि गरेको गठबन्धनले पाएको मतले उसमा अहंकार बढेको उनले बताए । ‘चुनाव अघि मिल्नुभएका उहाँहरूले अपार सफलता पाउनुभयो । उहाँहरूको यो शैलीमा मलाई एउटा गीत याद हुन्छ,’ रिजालले भने, ‘नयाँ नयाँ जवानी छ नयाँ नयाँ रंग, प्रधानमन्त्री जी आफ्नो रूप हेरी आँफै दंग हुनुहुन्छ ।’
प्रकाशित समय १४:२२ बजे
















