गृहपृष्ठ कर्णालीको पर्यटन प्रवर्द्धनका लागि आएको हुँ : उपराष्ट्रपति
कर्णालीको पर्यटन प्रवर्द्धनका लागि आएको हुँ : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनका लागि आफू यस क्षेत्रकाे भ्रमणमा आएकाे बताएका छन् । सुर्खेतस्थित धार्मिक तथा पर्यटकीय स्थल काँक्रेबिहारको बिहीबार अवलोकन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।
उनले नेपाली भाषा र संस्कृतिको उद्गम स्थलको रुपमा रहेको सिंजा सभ्यता लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे । पछिल्लो समय हराउँदै गएको सिंजा सभ्यतालाई जोगाउने कार्यमा लाग्न सम्पूर्ण कर्णालीवासीलाई उनले आग्रह गरे ।
कर्णालीलाई मात्रै नभई नेपाललाई नै सिंजा सभ्यताको चिनारीको रुपमा अगाडि बढाउन आवश्यक रहेको पुनले बताए । ‘म कर्णालीको पर्यटन प्रवदर्द्धनको लागि यो भ्रमणमा आएको हुँ,’ उनले भने, ‘कर्णाली प्रदेशमा थुप्रै पर्यटकीय स्थलहरु छन् । जसको उचित प्रचारप्रसार र पूर्वाधार विकासको आवश्यकता छ ।’ नेपाली भाषा तथा संस्कृतिको उद्गम स्थल सिंजाको सभ्यतालाई नजिकबाट हेर्न पाउँदा खुशी लागेको उनले बताए ।
बिहिबार नै पुनले वीरेन्द्रनगरमा रहेको बुलबुल तालको समेत अवलोकन गरेका छन् । शुक्रबार उपराष्ट्रपति पुन हुम्लाको सिमीकोटमा विद्यालय उद्घाटनको लागि जाने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख पुर्णचन्द्र जोशीले जानकारी दिए । जोशीका अनुसार पुन शुक्रबार नै कनकासुन्दरी गाउँपालिकाले आयोजना गर्ने कर्णाली प्रदेश स्तरीय प्रथम बृहत् सिंजा महोत्सवमा पनि सहमागी हुने कार्यक्रम छ ।
प्रकाशित समय १८:१९ बजे

















