गृहपृष्ठ गुटखा व्यापारीमाथि अनुसन्धान, ६८९ बोरा बरामद
गुटखा व्यापारीमाथि अनुसन्धान, ६८९ बोरा बरामद
कैलालीका ३ जना गुटखा व्यापारीमाथि प्रशासनले अनुसन्धान सुरु गरेको छ । सुर्तिजन्य पदार्थमा जनचेतनामुलक सन्देश तथा चित्र नराखेको भन्दै उनीहरुविरुद्ध मापदण्डविपरित गरेको भन्दै अनुसन्धान गर्न लागेको हो ।
उत्पादन तथा बिक्री वितरणको बुँदा ९ मा चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सूर्तिजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिंङ र लेबलको बाहिरी कुल भागमध्ये कम्तीमा ७५ प्रतिशत भागमा सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक हुने कुरा प्रकाशन गर्नुपर्ने भए पनि व्यापारीले नियम मिचेको हुँदा तीन जना व्यापारीमाथि अनुसन्धान हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।
चेतनामूलक सन्देश मापदण्डअनुसार नराखेको भन्ने उजुरीका आधारमा प्रशासनले माघ २ गतेदेखि १२ गतेसम्म धनगढीका विभिन्न सप्लायर्स तथा किराना पसलबाट मापदण्ड विपरितका गुटखा बरामद गरेको थियो ।
धनगढीस्थित भण्डारी ब्रदर्श एण्ड सप्लायर्स, बालाजी सप्लायर्स र रिचा किराना पसल गरि झण्डै ६ सय ८९ बोरा गुट्खा बरामद गरिएको थियो । कार्यालयका अनुसार भण्डारी ब्रदर्श एण्ड सप्लायर्सबाट छ सय ५२ बोरा, बालाजी सप्लायर्सबाट ३६ बोरा र रिचा किराना पसलबाट एक बोरा मेघाश्री नामक गुट्खा बरामद गरेको थियो ।
अनुगमन टोलीले अनुसन्धानका लागि भण्डारी र बालाजीमा सिल गरेको थियो । कैलालीकै लम्की चुहामा रहेको देउती गुट्खा इन्डस्ट्रिजले मेघाश्री नामक गुट्खा (सूर्तिजन्य पदार्थ) उत्पादन गर्दै आएको छ ।
अनुगमन टोलीले मेघाश्री, शुद्धप्लस, पुकार र भोला नामक गुट्खा विक्री वितरण गर्दै आएका सप्लायर्स तथा पसलमा छापा हानेको थियो । प्रशासनका सूचना अधिकारी जोशीले गुटखा बरामद गरेका व्यापारीलाई प्रशासनमा उपस्थित गराउन पत्र पठाएको बताए ।
प्रशासनमा शुक्रबार भण्डारी ब्रर्दश एण्ड सप्लायर्सका सञ्चालक उपस्थित भए पनि बयान भने नभएको जनाइएको छ । जोशीले भने, ‘बयान पछिमात्र को–कोविरुद्ध मुद्दा अघि बढाइने भन्ने टुङ्गो लाग्ने छ । व्यापारी तीन जनालाई १२ गते नै प्रशासनमा उपस्थित हुन पत्राचार गरेको हो । उनीहरु आउनु भएको छैन ।’
उनले मापदण्ड विपरित गुट्खा उत्पादन तथा विक्री वितरण गर्नेलाई ५० हजार जरिवाना तथा एक वर्ष कैद र दुबै हुन सक्ने व्यवस्था रहेको बताए ।
प्रकाशित समय ११:२५ बजे
















