गृहपृष्ठ उद्योगमा सरकारी अनुदान, मिलोमतोमै सकिन्छ बजेट

उद्योगमा सरकारी अनुदान, मिलोमतोमै सकिन्छ बजेट

अनुदानको आसमा उद्योग दर्ता र पुरानो देखाएर पैसा खाने हाेडबाजी

कर्णाली प्रदेश सरकारका योजनामा दुरुपयोग भएको छ । प्रदेश सरकारमार्फत् आर्थिक वर्ष २०७५/०७६ मा गएका योजनाहरु दुरुपयोग भएका हुन् ।

प्रदेश सरकारले सडक, खानेपानी, सिचाँई, कृषि, पर्यटन तथा उद्योगका नाममा दिएको बजेटमा दुरुपयोग भएको कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत संसदीय समितिका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए । समितिका तर्फबाट गरिएको अनुगमनका क्रममा धेरै योजनाहरुमा दुरुपयोग भएको पाइएको उनले बताए । समितिले गत माघ महिनादेखि कर्णाली प्रदेशका पाँचवटा जिल्लाहरुमा योजनाको अनुगमन गरेको भन्दै सांसद थापाले कुनै पनि जिल्लाका योजना राम्रो नभएको बताए ।

समितिले सल्यान, रुकुम पश्चिम, दैलेख, जाजरकोट र सुर्खेत जिल्लाका विभिन्न योजनाहरुको अनुगमन गरेको उनले बताए । ‘विशेषगरी उद्योगका नाममा बढी दुरुपयोग भएको छ,’ उनले भने, ‘सरकारले अनुदान दिन्छ भन्दै उद्योग दर्ता गर्ने र पुरानो सामान देखाउँदै पैसा खाने प्रवृत्ति मौलाएको छ ।’

केही स्थानमा सिलाईको वा अन्य उद्योगको मेसिन किन्नको लागि लिएको अनुदानसमेत प्रयोग नभएको पाइएको थापाले बताए । साना उद्योगसँगै कृषि, सडक, खानेपानीलगायतका सबै योजनामा दुरुपयोग मौलाएको उनले बताए ।

सडकको कामसमेत धेरै ठाउँमा नभएको भन्दै अध्यक्ष थापाले काम भएका ठाँउमा पनि गुणस्तरको काम नभएको उनको गुनासो छ । ‘कर्णाली प्रदेश सरकारबाट गएका कुनै पनि योजना सन्तोषजनक छैनन्,’ उनले थपे, ‘कर्मचारी, उद्योगपति, उपभोक्ता समिति र ठेकेदारको मिलोमतोमा बजेटमा दुरुपयोग भएको छ ।’ सरकारबाट अनुगमन नहुँदा योजनामा दुरुपयोग भएको उनले बताए ।

अर्थ तथा प्राकृतिक स्रोत समितिले कर्णाली प्रदेशका दशवटै जिल्लामा गई योजनाको अनुगमन गर्ने र पुन समितिमा छलफल पश्चात् आवश्यक सुधारका लागि सरकारलाई निर्देशन दिने उनले बताए । आफूहरुले गुणस्तरको काम नगर्ने उपभोक्ता समिति र ठेकेदारलाई आवश्यक सुझाब दिएको भन्दै अध्यक्ष थापाले काममा सुधार नभएको खण्डमा प्रमाणसहित अख्तियारमा पठाउन सक्ने बताए । उनले प्रदेशका सबै जिल्लाका योजनाहरुको अनुगमन गरी प्रतिवेदन तयार गरी संसदमा समेत पेश गर्ने जानकारी दिए ।

प्राविधिकसहित अनुगमनको लागि जिल्लाहरुमा समिति गएको र अझै पनि काम गर्ने निकायको चरित्रमा सुधार नआएको थापाले बताए । हरेक योजनाको दुरुपयोग हुनुमा नागरिकको समेत कमजोरी भएको थापाले बताए ।

‘सरकारी सम्पत्ति हाम्रो पनि हो भन्ने चेतना नागरिकमा आउनु जरुरी छ,’ अध्यक्ष थापाले भने, ‘गुणस्तरको काम नभएको खण्डमा र बजेटमा दुरुपयोग भएको खण्डमा खबरदारी गर्नुपर्छ ।’ कर्णालीमा भएको योजनाको दुरुपयोग देख्दा अझै पनि ‘सम्वृद्ध कर्णाली र सुखारी कर्णालीबासीको नारा’ सफल नहुने उनले बताए ।

प्रकाशित समय ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु