गृहपृष्ठ करिब सात सय मजदुरलाई घर पठाइयो

करिब सात सय मजदुरलाई घर पठाइयो

फाइल तस्बिर

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा अलपत्र परेका करीब सात सय मजदूरलाई घर पठाइएको छ ।

म्याग्दीमा सञ्चालित विभिन्न विकास आयोजनामा कार्यरत मजदूरलाई सम्बद्ध निर्माण व्यवसायीमार्फत यातायातका साधन व्यवस्थापन गरेर घर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार ४४२ र आइतबार २४७ मजदूरलाई गृह जिल्ला पठाइएको सहायक प्रजिअ महेश सुवेदीले जानकारी दिए । घर पठाइएका मजदूरमा विराटनगर, पोखरा, काठमाडौं, मकवानपुर, झापा, कैलाली, दाङ, बाँके, सिन्धुपाल्चोक, बर्दिया, उदयपुर, स्याङजा, पर्सा र वीरगञ्जका छन् ।

गृह मन्त्रालयको परिपत्रअनुसार ठेकेदार कम्पनीले घरसम्म पुर्याउने व्यवस्था मिलाएपछि प्रशासनले त्यहाँसम्म जाने सवारीसाधनलाई पास दिएको सहायक प्रजिअ सुवेदीले बताए । अझै केही आयोजनाका मजदूरलाई घर पठाउनका लागि सम्बद्ध निर्माण कम्पनीले सम्पर्क गरेका प्रजिअ ज्ञाननाथ ढकालले बताए ।

लक डाउन कार्यान्वयनलाई प्रभावकारी बनाउन चैत ११ गतेदेखि म्याग्दीमा स्थानीय प्रशासनले चैत २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । लकडाउन र निषेधाज्ञाका कारण म्याग्दीमा सञ्चालित जलविद्युत्, प्रसारण लाइन, सबस्टेशन, सडक, भवन र नदी नियन्त्रण योजनामा काम गर्न आएका देशका विभिन्न जिल्लाका मजदूर अलपत्र परेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको नारच्याङस्थित ११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण रोकिएको प्रवर्द्धकले जनाएका छन् ।

रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट र ३७.५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजना निर्माणाधीन छन् । मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना, डाँडाखेत र रातोढुंगा सबस्टेशन निर्माणाधीन छन् ।

बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम पनि ठप्प भएको निर्माण व्यवसायी संघका अध्यक्ष नारायण जिसीले बताए ।

प्रकाशित समय ०७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु