गृहपृष्ठ विरोध सभाका लागि कांग्रेसले बनायो ३५० सदस्यीय समिति
विरोध सभाका लागि कांग्रेसले बनायो ३५० सदस्यीय समिति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध विरोध सभा गर्न मोरङमा तीन सय ५० सदस्यीय समिति गठन गरेको छ । सरकारविरुद्ध साउन १५ गते देशव्यापी विरोध कार्यक्रम गर्न कांग्रेसले प्रदेश सभाका सांसद, पार्टीको जिल्ला समितिका पदाधिकारीसम्मिलित समिति गठन गरेको हो ।
मोरङ कांग्रेसको विराटनगरमा बसेको बैठकले १ नम्बर प्रदेश राजधानी विराटनगरमा सशक्त विरोध र्याली तथा सभा गर्ने निर्णय गरेको हो । पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा गठन भएको आन्दोलन परिचालन समितिमा प्रदेश सभाका सांसद, पार्टीको जिल्ला समितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिहरु, भ्रातृ संस्थाका केन्द्रीय पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका जिल्ला प्रमुख र तत्कालीन लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य छन् ।
यसैगरी महानगर, नगर र गाउँपालिकाका प्रमुख/उप्रमुख, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले विरोध कार्यक्रमलाई सशक्त बनाउन भूमिका खेल्ने सभापति डिगबहादुर लिम्बूले जानकारी दिए । विराटनगरको वीरेन्द्र सभागृहमा भेला भई गोल्छामोडबाट निस्कने विरोध र्याली जनआन्दोलन चोकमा पुगेर विरोध सभामा परिणत हुने पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले बताए ।
डा. गोविन्द केसीका माग पूरा नगरेको, अत्यधिक कर तथा उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको, बंगलादेशमा पढ्न गएका नेपाली चेलीका विषयमा सरकारका जिम्मेवार मन्त्रीबाटै लज्जाबोध हुने अभिव्यक्ति आएको, सरकारको चरित्र अधिनायकवादी हुँदै गएकाले कांग्रेसले विरोधका कार्यक्रम तय गरेको सचिव घिमिरेले जानकारी दिए ।
प्रकाशित समय १६:०२ बजे