गृहपृष्ठ बेलका नगरपालिकामै पोषणयुक्त पिठो उत्पादन गरिने

बेलका नगरपालिकामै पोषणयुक्त पिठो उत्पादन गरिने

उद्ध्यमीलार्इ नगरको साथ छ – नगरप्रमुख थापा

उदयपुरको बेलका नगरपालिकाका महिलाहरु उद्यमशीलतामा सक्रिय रुपमा लाग्न थालेका छन् । त्यसमा उनीहरुलाई नगरपालिकाले पनि सहयोग गर्न थालेको छ । बेलका नगरपालिका–९ पुष्पाञ्जली टोल विकास संस्था र गौरव टोल विकास संस्थाका गरी पाँच जना महिला पीठो उत्पादन कार्यमा लागेका हुन् ।

नगरपालिकाको सहयोगमा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम एक वर्षयता सञ्चालित छ । मंगलबार एक कार्यक्रमका बीच नगरप्रमुख दुर्गाकुमार थापाले वडा नम्बर ९ का महिला उद्यमी आवद्ध पोषण उद्यमी समूहलाई दुई वटा पीठो पिस्ने मेसिन हस्तान्तरण गरेका छन् । मनकुमारी राई, धनमाया घिमिरे, टीका घिमिरे, निता राई र यसोदा खनालको समूहले करिब १ लाख ३० हजार रुपैयाँ पर्ने दुईवटा मेसिन पाएको हो ।

मेसिन हस्तान्तरण गर्दै नगरप्रमुख थापाले नगरपालिकालाई टिबी र कुपोषमुक्त बनाउने घोषणा गरे । त्यसका लागि उद्यमी महिलाहरुको साथ अपरिहार्य हुने उनको भनाइ थियो । उनले उद्यमशीलतामा लाग्ने महिलालाई नगरपालिकाले प्रोत्साहन गर्ने प्रतिवद्धता पनि जनाए । ‘यस्तै उद्यमशील काममा लाग्नुहोला, नगरपालिका तपाईंको साथमा हुनेछ,’ नगरप्रमुख थापाले भने, ‘नगरपालिकालाई समृद्ध बनाउन तपाईंहरुको सक्रियता महत्वपूर्ण हुन्छ ।’

कार्यक्रममा वडा नम्बर ९ की वडासदस्य समेत रहेकी उद्यम कार्यक्रमकी अध्यक्ष कुमारी तामाङले महिला हिंसा अन्त्य गर्दै समावेशी यात्रामा अघि बढ्न पनि महिलाहरु उद्यमी बन्नुपर्नेमा जोड दिइन् । कार्यक्रमका अन्य वक्ताले महिलाहरु उद्यमशील गतिविधिमा लाग्नु सकारात्मक पक्ष भएको बताए ।

बेलका नगरपालिकाले यो वर्षलाई उत्पादनको आधार वर्ष मानेको छ । ‘उत्पादनमा मेरो साथ, बस्दिनँ म खाली हात’ भन्ने नारासँगै उत्पादनको आधार वर्ष मनाउन लागेको नगरपालिकाले उत्पादनमूलक कार्यमा लाग्नेलाई प्रोत्साहन गर्ने बताएको छ ।

प्रकाशित समय १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु