गृहपृष्ठ स्थायी कमिटी बैठकमा ओलीलाई गौतमको सुझाव- अध्यक्ष छाड्नुस्

स्थायी कमिटी बैठकमा ओलीलाई गौतमको सुझाव- अध्यक्ष छाड्नुस्

बैठकमा २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत

nekapa-building_newskarobar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हट्न नेता वामदेव गौतमले आग्रह गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावमा नेता वामदेव गौतमले फरक प्रस्ताव पेस गर्दै यस्तो आग्रह गरेका हुन् ।

विगतमा ओली खेमामै रहेका गौतमको पछिल्लो समय ओलीसँगको दूरी बढेको छ । शनिबारको सचिवालय बैठक गौतमलगायत चार नेताले बहिष्कार गरेपछि पाँच सदस्यीय बहुमतबाट स्थायी कमिटी बैठक बोलाइएको हो । सोह स्थायी कमिटी बैठकमा गौतमले अध्यक्ष ओलीलाई सरकार सञ्चालनको मात्र जिम्मेवारी लिन आग्रह गरेका हुन् ।

पार्टी सञ्चालन, सरकारको समीक्षा र आगामी कार्यभार समेटिएको संयुक्त रुपमा पेस भएको प्रतिवेदनमा गौतमले लिखित फरक प्रस्ताव पेस गर्दै यस्तो आग्रह गरेका स्थायी कमिटी सदस्यहरुले बताए । बैठकमा नेता गौतमले लिखित रुपमा आफ्नो मत राख्ने अनुमति माग्दै दुई अध्यक्षमध्ये एकले पार्टी र अर्कोले सरकार चलाउनुपर्ने बताए ।

२२ पृष्ठ लामोे प्रतिवेदनप्रति गौतमले १६ पृष्ठको फरक प्रस्ताव पेस गर्दै अध्यक्ष ओलीको घुमाउरो शैलीमा आलोचना गरेका छन् । ‘पार्टी विधि, पद्धतिबाट चल्नुपर्छ, पार्टीले सरकार चलाओस् भन्नेमा गौतमजीको जोड छ, उहाँको फरक मतको सार भनेको दुई अध्यक्षमध्ये एकजनाले सरकार र अर्को अध्यक्षले पार्टी संगठन चलाउनुपर्ने भन्ने हो,’ एक स्थायी कमिटी सदस्यले भने ।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा नेता गौतमले सुझावमात्र दिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । ‘विवाद, असन्तुष्ट, फरक मतभन्दा गौतम कामरेडले सुझाव पेस गर्नुभएको हो, त्यो सुझाव पनि अध्ययनका लागि पाएका छौं,’ उनले भने ।

२२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ऐतिहासिक पार्टी एकतादेखि वर्तमान सरकारको नौ महिनासम्मका काम कारबाहीको चर्चा गरिएको छ । यस्तै संगठनात्मक एकीकरण, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा उल्लेख गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

पार्टीमा भावनात्मक एकता खल्बलियो : ओली
बैठकको अध्यक्षता गर्दै अध्यक्षद्वयले पार्टीका सामुन्ने ऐतिहासिक अवसरहरु प्राप्त भएको धारणा राखेका थिए । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सफलता असाधारण रहेको दाबी गरे । स्थायी कमिटीको बैठकमा वर्तमान राजनीतिक अवस्था र सरकारको कामकारबाहीबारे ब्रिफिङ गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘सतही टिप्पणीले होइन, तथ्यांकले सरकारको सफलता देखाएको छ, यो निकै असाधारण छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्यहरुले जानकारी दिए । बैठकमा संक्षिप्त धारणा राखेका उनले पार्टीमा भावनात्मक एकता खल्बलिएको विश्लेषण सुनाएका थिए । तल्ला तहमा छिट्टै पार्टी एकता गरेर सबैलाई एकताबद्ध बनाइनेसमेत उनले बताए ।

यस्तै, अर्का अध्यक्ष प्रचण्डले नेपाली जनताले पार्टीलाई अभुतपूर्व विश्वास गरेकाले वर्तमान अवस्थामा पार्टीलाई भावनात्मक रुपले अझै बढी एकताबद्ध बनाउँदै ऐतिहासिक अभिभाराहरु पूरा गर्न सामूहिक पहल गर्नुपर्नेमा जोड दिए ।

बैठकमा पेस गरिएका प्रस्ताव स्थायी कमिटी सदस्यलाई अध्ययनका लागि दिइएको छ । सदस्यहरुले आइतबार प्रस्ताव अध्ययन गर्ने र सोमबार पुनः बैठक बस्नेछ । सोमबारपछि पनि बैठक अझै केही दिन लम्बिने देखिएको छ । एकता प्रक्रियामा बाँकी रहेका काम कारबाहीलाई बैठकबाट टुंगोमा पु¥याउने नेताहरुले बताएका छन् ।

जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपा बनको हो । केन्द्रीय कमिटी र प्रदेश समितिका पदाधिकारी र सदस्यले पूर्णता पाए पनि नेकपामा जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउन बाँकी छ । अहिले बसेको स्थायी समितिको तेस्रो बैठक हो ।

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु