गृहपृष्ठ महानगरमा नाला निर्माण : बन्दै छ, भत्किँदै छ
महानगरमा नाला निर्माण : बन्दै छ, भत्किँदै छ
विराटनगर महानगरपालिका–११, जनपथटोलमा निर्माणाधीन नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ । ५ महिनाअघि उपभोक्ता समितिमार्फत निर्माण सुरु भएको १३० मिटर लामो नाला विभिन्न ठाउँमा भत्किएको हो ।
जनपथटोलको रौनियार सेवा सदन अगाडिको सडकमा निर्माण भइरहेको नाला कमसल निर्माण सामग्री प्रयोग गरिएका कारण भत्किएको स्थानीयवासीको आरोप छ । ठाउँ–ठाउँमा नाला टुटफुट भए पनि लथालिङ्ग छाडिएका कारण स्कुल जाने बालबालिकाहरु दैनिकजसो नालामा खसेर घाइते हुने गरेको स्थानीयहरुको भनाइ छ । वडा समितिको ७ लाख रुपैयाँ बजेटबाट नाला निर्माण भइरहेको हो ।
सडकको पूर्व–दक्षिण किनारमा निर्माण गर्नुपर्ने नाला अहिलेसम्म ९० मिटर मात्र निर्माण गरिएको छ । निर्माण सकिएको नाला पनि अधिकांश ठाउँमा ढलेको छ ।
काम थालेको दुई सातापछि नाला भत्किएको स्थानीय मेहजबी बानोले बताए । उनले भने, ‘नालाको काम एकदमै गुणस्तरहीन छ । उताबाट बन्दै आयो, बनाएको २ हप्ता भएको छैन भत्किसक्यो । यो कस्तो विकास हो ?’
यस विषयमा विराटनगर महानगरपालिकालाई पटक–पटक जानकारी गराँउदा पनि कुनै सुनवाई नभएको स्थानीयवासीको गुनासो छ । वडासदस्य रिंकु परियारले स्थानीय एक–दुई परिवारले ‘साइड क्लियर’ गर्न नमानेको तथा अनावश्यक विवाद सिर्जना गरेका कारण निर्माण अवधि लम्बिएको जानकारी दिइन् ।
निर्माण गरिएको नाला केही दिनमै भत्किएपछि आफूसमेत अचम्मित भएको उनको भनाइ छ । उनले भनिन्, ‘गुनासो आएपछि स्थलगत निरीक्षण गरेर हेर्दा हामी पनि छक्क पर्यौँ । के भएको हो यथार्थ बुझेर समितिलाई काम सच्याउन लगाउँछौँ ।’
बस्तीको बीचमा रहेको भत्किएको नाला लथालिङ्ग छाडिएको छ । जसका कारण ढल र घरबाट निस्किएको फोहोर पानीले निकास पाएको छैन । सडकमा बगेको फोहोर पानीका कारण आसपासका बासिन्दा दुर्गन्ध सहेर बस्न बाध्य छन् ।
नालाको गुणस्तर परीक्षण गरी मापदण्डअनुसार काम गराउन स्थानीयले वडा समितिसमक्ष माग गरेका छन् । स्थानीयबीच भएको विवाद समाधान गरेर यथाशीघ्र काम सम्पन्न गर्नुपर्ने उनीहरुको माग छ ।
प्रकाशित समय १७:३२ बजे
















