गृहपृष्ठ प्रदेश सरकारद्वारा खेलकुद विधेयकको मस्यौदामाथि सुझाव संकलन
प्रदेश सरकारद्वारा खेलकुद विधेयकको मस्यौदामाथि सुझाव संकलन

प्रदेश १ सामाजिक विकास मन्त्रालयले खेलकुद विधेयकको मस्यौदामाथि बिहीबार सरोकारवालासँग सुझाव संकलन गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकुदलगायतको जिम्मेवारी पाएको सामाजिक मन्त्रालयले प्रदेश खेलकुद विधेयक २०७५ को मस्यौदा तयार गर्ने क्रममा सुझाव संकलन गरेको हो ।
सुझाव संकलन कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयको कार्यक्षेत्र धेरै भएको र आफूहरु सबै क्षेत्रमा विज्ञ नभएका कारण सरोकारवालाको सुझाव संकलन गरी मस्यौदा तयार पार्ने काम गरिरहेको बताए । ‘मन्त्रालयले तयार पारेको मस्यौदाले पछि कानुनको रुप लिने हुँदा यसलाई उत्कृष्ट बनाउन सबै सरोकारवालालाई आग्रह गरेका छौं,’ उनले भने, ‘सबै क्षेत्रमा अब्बल १ नम्बर प्रदेशलाई खेलकुदको क्षेत्रमा पनि अब्बल बनाउन त्यसैअनुसारको कानुन, नीति निर्माण गर्न लागिपरेका छौं ।’
राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा नै १ नम्बर प्रदेशलाई चिनाउन खेल क्षेत्रलाई दरिलो आधार बनाइने मन्त्री घिमिरेले बताए । मन्त्रालयले सरोकारवाला निकाय क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिलगायत विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकबाट सुझाव संकलन गरिरहेको छ ।
प्रकाशित समय २०:२४ बजे