गृहपृष्ठ प्रदेश १ मा प्रशासनिक अस्थिरता
प्रदेश १ मा प्रशासनिक अस्थिरता
६ महिनामा ४ जना प्रमुख सचिव फेरिए
प्रमुख सचिव केदार न्यौपाने ।
पछिल्लो समय मुलुकले राजनीतिक स्थिरता पाउँदै गएको बेला प्रदेश नम्बर १ मा भने प्रशासनिक अस्थिरता देखिएको छ । पछिल्लो ६ महिनाको अवधिमा ४ जना प्रमुख सचिव फेरिनुले यसको पुष्टि गर्दछ ।
भर्खरै मात्र केदार न्यौपाने प्रदेश नम्बर १ को प्रमुख सचिव भएर आएका छन् । ६ महिनाको अवधिमा यसरी प्रमुख सचिव भएर आउने प्रदेश १ मा उनी चौथो हुन् । प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले न्यौपानेबाहेक तीन जना प्रमुख सचिव पाइसकेको छ ।
न्यौपानेअघि राजेश्वरमान सिंह, यादवराज कोइराला तथा सुरेश प्रधान प्रदेश १ को प्रमुख सचिव भएका थिए । यसरी प्रदेश १ को प्रशासन अस्थिर हुँदा त्यसले असर प्रदेशको कार्यक्षमतामा पर्न सक्ने भन्दै चिन्ता प्रकट हुन थालेको छ ।
यसैबीच प्रमुख सचिव न्यौपानेले आवश्यकता अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्ने बताएका छन् । प्रदेशमा सबैभन्दा पहिलो एजेण्डा समृद्धिको हुने बताउँदै उनले गरिबी, अज्ञानता घटाउने र पूरानो अवस्थाबाट नयाँ अवस्थामा पुर्याउन आफूले कार्ययोजना निर्माण गर्ने बताएका हुन् ।
सोमबार मात्रै कार्यभार सम्हाल्न विराटनगर आइपुगेका न्यौपानेले मंगलबारै सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर आवश्यक निर्देशन दिएका छन् । उनले जे जस्तो अवस्थामा भए पनि आफूले काम अघि बढाउनु पर्ने र उनले माथिको मुख ताक्न नहुने पनि बताएका छन् ।
काम के कसरी गर्ने भन्ने विषयमा अझै वृहत छलफल गरेर कार्ययोजनाको खाका तयार गरेर अघि बढ्ने उनको भनाई छ ।
प्रकाशित समय १७:३५ बजे

















