गृहपृष्ठ बेलका नगरपालिकाका मेयरविरुद्ध अदालतमा मुद्दा

बेलका नगरपालिकाका मेयरविरुद्ध अदालतमा मुद्दा

नगरप्रमुख थापा भन्छन् : भ्रष्टाचार गर्नेलाई माफ हुँदैन

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाविरुद्ध जिल्ला अदालत उदयपुरमा मुद्दा दर्ता भएको छ । नगरप्रमुख थापाले आफूलाई अपमान गरेको भन्दै बेलका नगरपालिका वडा नम्बर १ का भीमबहादुर थापाले जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

नगरप्रमुख थापाविरुद्ध मुद्दा हाल्ने भीमबहादुर कालिखोला सिचाई उपभोक्ता समितिका निवर्तमान अध्यक्ष हुन् । समितिमा रहँदा एउटा सिचाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै नगरपालिकाले कार्बाही गरेपछि न्याय माग्दै उनी अदालत पुगेका हुन् ।

बेलका नगरपालिकाले वडा नम्बर १ मा सिचाई आयोजनाका लागि २ लाख रुपैयाँ बजेट भीमबहादुरको अध्यक्षतामा रहेको समितिलाई दिएको थियो । समितिले ६० हजार रुपैयाँ पेश्कीस्वरुप लिएको भीमबहादुरको भनाइ छ । यता, नगरपालिकाले भने १७ घण्टा काम गरेर ४० घण्टाको बिल पेस गरेपछि भीमबहादुरलाई कार्बाही गरिएको जनाएको छ । उनलाई पाँच वर्षसम्म कुनै पनि उपभोक्ता समितिमा बस्न नपाउने गरी नगरपालिकाले कार्बाही गरेको छ ।

भीमबहादुरले भने पेश्की रकमबाट १७ घण्टा डोजर प्रयोग गरी खर्च गरिएको तर ४० घण्टाको बिल बनाएको भन्ने आरोप झुटो रहेको दाबी गरेका छन् । ‘मलाई अवैधानिक ढंगबाट हटाइएको छ,’ उनले भने, ‘नहुँदो आरोप लगाइएको छ र ममाथि अन्याय भएको छ, त्यसैले अदालतको सहायता मागेको हुँ ।’

यता, बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले भने भीमबहादुरले भ्रष्टाचार गरेको प्रमाणित भएपछि कार्बाही गरिएको बताए । ‘नगरपालिकाले दिएको बजेट दुरुपयोग गर्नु भनेको जनताप्रतिको धोका हो,’ उनले भने, ‘त्यस्तालाई कार्बाही नगरे के गर्ने ?’

यो विषय अदालतमा रहेकाले आफू चुप लागेर बसेको उनले बताए । ‘यो मुद्दा अदालतमा पुगेरमात्र हो, म अख्तियारमा हाल्ने तयारीमा थिएँ,’ नगरप्रमुख थापाले भने, ‘त्यत्रा साक्षीको अगाडि मैले गल्ती गरेँ भनेर आफैँ समितिबाट राजीनामा दिने, कार्बाहीका लागि तयार हुने अनि पछि चाहिँ झुटो र अपमान भयो भन्ने ?’

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु