गृहपृष्ठ स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन जागरण अभियान
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन जागरण अभियान
गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नसुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बिमा बोर्ड सक्रिय भएर लागेको छ । विभिन्न प्रदेशमा अभिमुखीकरण तालीम दिएर बिमित बढाउने कामलाई बोर्डले तीव्रता दिएको छ । बोर्डले यसलाई ‘जागरण अभियान’का रुपमा अघि बढाएको छ ।
स्थानीय सरकार, बिमा कम्पनी, नागरिक समाजका अगुवासँग समन्वय गरी बोर्डले अहिले प्रदेश १ मा अभिमुखीकरण तालीम सञ्चालन गरिरहेको छ । हालैमात्र मोरङको रतुवामाई नगरपालिकामा स्वास्थ्य बिमासम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य बिमा बोर्ड प्रदेश नं १ शाखा कार्यलय विराटनगरले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य बिमाको महत्व, प्रभावकारीता र लाभका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले स्वास्थ्य बिमासम्बन्धी जानकारी आ–आफ्नो क्षेत्रबाट सबै नगरबासीसमक्ष पु-याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य चन्द्रवीर राईले थोरै शुल्कमा गरिने सवास्थ्य बिमाले वर्षभरी ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार पाइन भएकाले मोरङमा जतिसक्दो छिटो लागू गर्नुपर्ने बताए । स्वास्थ्य बिमा बोर्डका खगराज पोखरेलले सहजीकरण गरेको कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख राईसहित प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरे, स्वास्थ्य शाखाका संयोजक राजन पोखरेल, नगरका राजनीतिक दलका प्रतिनिधी, सञ्चारकर्मीलगायतको सहभागी थिए ।
प्रदेश नं. १ का ६ जिल्लामा मात्रै स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ भने दुई जिल्ला विस्तारको तयारी गरिएको छ । ताप्लेजुङ, तेह्रथुम, उदयपुर, धनकुटा, पाँचथर र ओखलढुंगामा भने कार्यक्रम विस्तार गर्ने तयारीसमेत भएको छैन ।
प्रदेश नं. १ मा हालसम्म स्वास्थ्य बिमा कार्यक्रम करिब १५ लाख सहभागी भएका बोर्डले जनाएको छ । लागू भएका जिल्लामा बिमितको संख्या ती जिल्लाको जनसंख्याको ५.२ प्रतिशत हो ।
देशभरी स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ७.३७ प्रतिशत नागरिक यसमा जोडिएका छन् ।
सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अहिले देशका ३६ जिल्लामा सञ्चालित छ । प्रतिव्यक्ति एक सय रुपैयाँ वार्षिक प्रिमियम तिरेर ५० हजार रुपैयाँसम्मको बिमा गर्न सकिन्छ । स्वास्थ्य बिमा कार्यक्रम लागू नभएका जिल्लाका व्यक्तिले कम्पनीमा सम्पर्क राखेर बिमा गर्न सक्नेछन् ।
उनीहरुले बिमा गर्दा भने न्यूनतम वार्षिक एक सय ५० देखि २ सय ५० रुपैयाँसम्म प्रिमियम पर्छ र ५० हजार रुपैयाँको बिमामा हुनेछ । नेपालको संविधानले नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने प्रावधानबमोजिम सरकारले यो कार्यक्रम लागू गरेको हो । आर्थिक वर्ष २०७५÷७६ मा स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्यसम्बन्धी सूचांकमा आमूल परिवर्तन ल्याउने र मुलुक विकासशील मुलुकको सूचीमा पुर्याउने लक्ष्य राखेको छ ।
प्रकाशित समय १२:११ बजे

















