गृहपृष्ठ आश्रमका बालबालिकालाई इन्सेक प्रतिनिधिको समन्वयमा आर्थिक सहयोग
आश्रमका बालबालिकालाई इन्सेक प्रतिनिधिको समन्वयमा आर्थिक सहयोग
जनकपुरस्थित सद्गुरु कविर बाल आश्रममा इन्सेक धनुषा प्रतिनिधिको पहलमा आर्थिक सहयोग गरिएको छ ।
मंसिर १६ गते आश्रमका सञ्चालक प्रोफेसर सन्त सत्यनारायण आलोकलाई इन्सेक प्रतिनिधिको पहलमा चौध हजार रुपैयाँ, फलफूल र मानवअधिकारसम्बन्धी पुस्तक प्रदान गरिएको छ ।
वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत महोत्तरी बर्दिवास नगरपालिकाका एक युवाले इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहलाई आश्रममा रहेका १३ जना बालबालिकाहरुको सरंक्षणका लागि पठाएको चौध हजार रुपैयाँलगायतको सामाग्री आश्रमका सञ्चालकलाई प्रदान गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, समाजसेवी बैद्यनाथ साह, महोत्तरी इन्सेक प्रतिनिधि अजय साह, रेडियो नेपालका प्रदेश २ का प्रमुख संवाददाता अजय झालगायतको समाजसेवीहरुको उपस्थितिमा आर्थिक सहयोग गरिएको हो ।
सहयोग कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका युवा दिनेश शर्माले पठाएको चौध हजार रुपैयाँले आश्रमलाई ठूलो साथ र सहयोग भएको भन्दै आफ्नो कडा मेहनत र परिश्रम गरि आश्रमलाई सहयोग गराउन सफल भएकोमा इन्सेक धनुषा प्रतिनिधि र दातालाई धन्यवाद दिएका छन् ।
आश्रमका सञ्चालक प्रोफेसर सन्त सत्यनारायण आलोकले धनले कमजोर भए पनि समाजिक मनले धनी हुने आत्मका युवा दिनेश शर्मा खाडी मुलुकबाट आश्रमलाई सहयोग गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
आश्रममा सहयोग गराउनको लागि पहल गर्ने इन्सेक धनुषा प्रतिनिधिलाई समेत सञ्चालक आलोकले धन्यवाद ज्ञापन गरेका छन् ।
आश्रममा अहिले १३ जना बालबालिकाहरु रहेका छन् । विभिन्न स्थानमा जन्मने वित्तिकै फालिएका बालबालिकाहरुलाई आश्रममा ल्याएर सञ्चालक सन्त सत्यनारायण आलोक र माता मिरा आलोकले पालन पोषण गर्दै आएका छन् ।
आश्रमको आफ्नै स्थायी आम्दानीको श्रोत नभएकाले दाताहरुकै सहयोगको भरमा सञ्चालन हुदै आएको छ ।
प्रकाशित समय १४:४६ बजे

















