गृहपृष्ठ प्रदेश २ को राजधानी जनकपुर राख्नेमा दलहरु सर्वसम्मत

प्रदेश २ को राजधानी जनकपुर राख्नेमा दलहरु सर्वसम्मत

province-2_newskarobar

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्न प्रदेश २ का दलहरु सर्वसम्मत भएका छन् ।

प्रदेश २ का सभामुख सरोजकुमार यादवको संयोजकत्वमा प्रदेशको नामाकरण र राजधानीको विषयमा टुंगो लगाउन गठित संसदीय विशेष समितिको बैठकले प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्न दलहरुबीच सहमति भएको जनाएको छ ।

बैठकबाट जनकपुरधामलाई नै राजधानी राख्ने निर्णय सर्वसम्मतिले पारित भएको समितिका संयोजकसमेत रहेका सभामुख सरोजकुमार यादवले बताए ।

राजधानी जनकपुरधाम राख्ने तर राजधानीको सिमानाका भने उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतीय सिमानाका, पूर्व र पश्चिमतर्फ मिथिला माद्यमिक परिक्रमा क्षेत्रसम्म राजधानीको सीमा तोक्ने सहमति भएको हो ।

समितिले टुंगो लगाएको राजधानी जनकपुर प्रदेश सभाको दुईतिहाई बहुमतले पारित गरेपछि राजधानीको औपचारिक रुपमा कायम हुनेछ ।

विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावक संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगिएको सभामुख यादवले बताए । पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो ।

प्रदेशको राजाधानी र नाम सम्बन्धमा विभिन्न दलका सांसदहरूले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गरेको थियो । प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागे पनि नामको विषयमा सहमति हुन सकेको छैन । नामको टुंगो लगाउने विषयमा विशेष समितिमा छलफल भइरहेको सभामुख यादवले जनाए ।

समितिमा उपसभामुख उपमा देव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र सांसद नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, सांसद रामकुमार यादव, र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र सांसद रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी सांसद सावित्रीदेवी साह सदस्य रहेका छन् ।

प्रकाशित समय ०९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु