गृहपृष्ठ वनको जग्गा भाडामा : जग्गा माग्न अर्को समूह नगरपालिका जाने

वनको जग्गा भाडामा : जग्गा माग्न अर्को समूह नगरपालिका जाने

belaka nagarpalika

बेलका नगरपालिकाले एउटा कृषक समूहलाई ३६ विघा जमिन भाडामा दिएपछि त्यसबारे नेपाली कांग्रेस नगर कमिटीले छलफल गरेको छ । शुक्रबार अपराह्न रामपुरमा बसेको बैठकले आफूसँग छलफल नै नगरी नगरपालिकाले एकलौटी निर्णय गरेकोप्रति असन्तुष्टि जनाएको छ ।

कांग्रेसले नगरपालिकाको उक्त कदमलाई गैरकानुनी भनेको छ । ‘जग्गा नगरपालिका अन्तर्गतको भए पनि समन्वय गर्नुपर्ने निकायहरु छन्,’ बैठकमा सदस्यहरुले उठाएका सवालबारे जानकारी गराउँदै बेलका कांग्रेसका सभापति शुसील सेढाईंले भने, ‘नगरपालिकामा प्रतिपक्षी दललाई बेवास्ता गरी निर्णय गर्ने, प्रदेश र डिभिजन वनको अनुमति नै आवश्यक नठान्ने यो कस्तो प्रवृत्ति हो ?’

उनका अनुसार बैठकमा सदस्यहरुले आफूहरु पनि समूह बनाएर जग्गा भाडामा माग्न जाने बताएका छन् । ‘एउटा समूहलाई जग्गा भाडामा दिने नगरपालिकाको निर्णयले उसैलाई अप्ठ्यारो पार्ने देखिएको छ,’ सेढाईंले भने, ‘बैठकमा उपस्थित कतिपय साथीहरुले समूह बनाएर जग्गा माग्न जाने कुरा गरेका छन् ।’

नगरपालिकाले नै आफूमातहतको समिति बनाएर खेती गर्न मिल्ने विकल्पबारे सेढाईंले ध्यानाकर्षण पनि गराए । ‘कुनै समूहलाई दिएर विवादमा आउनुभन्दा त्यही समूहलाई समेटेर नगरपालिकाले आफूमातहतको समिति बनाइ खेती गर्दा विवाद आउँछजस्तो मलाई लाग्दैन ।’ उनले भने ।

नगरपालिकाले बेलका–३ मा रहेको पौरखी कृषक समूहलाई कोशी टप्पुको ३६ विघा जमिन खाली रहेको र उत्पादन बढाउन भन्दै भाडामा दिएपछि विवाद उत्पन्न भएको हो । सव डिभिजन वन कार्यालय मैनामैनीले नगरपालिकाको गैरकानूनी कदम भन्दै रोकिदिएको छ । सुरुमा २० वर्षका लागि दिने भनिए पनि अहिले भने सच्याइएको छ । २० वर्ष नभने पनि कति समयसम्मका लागि दिने भन्नेबारे नगरपालिका स्वयं अन्योलमा परेको छ ।

प्रकाशित समय ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु