गृहपृष्ठ सीताराम विवाहस्थल मणिमण्डप : आस्था र विश्वासको स्थल
सीताराम विवाहस्थल मणिमण्डप : आस्था र विश्वासको स्थल
त्रेतायुगमा मिथिलाका राजधानी जनकपुरधामका राजा जनककी पुत्री सीता र भारत अयोध्याका राजा दशरथका छोरा मर्यादा पुरुषोत्तम भगवान रामबीच विवाह भएको स्थल हो, मणिमण्डप । जनकपुरधाम उपमहानगरपालिका–१३, पिडारीको रानीबजारमा करिब एक बिघामा फैलिएको मणिमण्डप (मडवा) महत्वपूर्ण धार्मिक स्थलमध्ये एक हो ।
जानकी मन्दिरको स्वामित्वमा रहेको मणिमण्डपको आफ्नै १८ बिघाभन्दा बढी जग्गा छ । भगवान विश्वकर्माले माता सीताको विवाहका लागि मणि जडित मडवा निर्माण गरेकै कारण सो स्थलको नाम मणिमण्डप रहेको जनविश्वास छ । अहिले जानकी मन्दिरको उत्तरतर्फको छेउमा रहेको मडवा पर्यटकीय दृष्टिले निर्माण गरिएको मडवा हो । मणिमण्डपबाट माटो ल्याएर जानकी मन्दिरको छेउमा रहेको मडवा निर्माण गरिएको जानकारहरु बताउँछन् ।

मणिमण्डपलगायत यस क्षेत्र वरपरको विकास र स्तरोन्नतिका लागि पुरातात्विक विभाग र नास्टले पुराना माटाका भाँडावर्तन, विभिन्न प्रकारका सामग्रीसमेत उत्खनन गरेका छन् । त्यहाँबाट उत्खनन गरिएका पुराना माटाका भाँडाबर्तन अध्ययन अनुसन्धानका लागि पुरातात्विक विभागमा राखिएको छ ।
करिब चार सय वर्षपहिले कुम्हरौडाको भगवतीपुर बस्ने ठकुरी राउतलाई तत्कालनी जानकी मन्दिरका महन्थले रानीबजारमा मणिमण्डपको जग्गा खालि छ, त्यहाँ गएर पूजापाठ र जग्गा संरक्षण गर्नु भनेको बताइन्छ । सोही बेला ठकुरी राउले रोपेका पितौझियाको विशाल रुखसमेत अहिलेसम्म रहेको मन्दिरका महन्थ वासुदेव राउत बताउँछन् । सोही बेलादेखि ठकुरी राउतपछि रामशरण राउत, जुगेश्वर राउत हुँदै अहिले वासुदेव राउत मन्दिरको पुजारी हुँदै आएका छन् ।
मणिमण्डपलाई पुरानो झोपडीबाट अहिले आधुनिक पक्की भवन बनाइएको छ भने मन्दिरकै छेउमा संकटमोचन अर्थात् हनुमानजीको समेत पक्की मन्दिर बनाइएको छ । पहिलेको तुलनामा अहिले निकै आकर्षक रुपमा मन्दिर र सो स्थलमा रहेका पैसरनी सागर (गोइधोइ) लाई सजाइएको छ ।

मन्दिरका पुजारी वासुदेव राउतका अनुसार झोपडीको अवस्थामा रहेको यस स्थलमा सजाउने काम भने जनकपुरका सांसद तत्कालीन स्थानीय विकास राज्यमन्त्री सञ्जय साह (टक्ला) ले सुरु गरेका हुन् । मर्मतसम्भार र चारैतिर घेराबेरा गराएपछि पर्र्यटक अगमनसमेत बढेको छ । अहिले श्री सीताराम विवाह मणिमण्डप विकास समितिसमेत निर्माण गरी मन्दिरको जग्गा, पोखरी र फूलबारीको संरक्षण गरिँदै आएको छ । अहिले सहरी विकास तथा डिभिजन कार्यालयले पोखरीको संरक्षण तथा सजावट गर्ने गरेको छ ।
अहिले जनकपुर आउने पर्यटक प्रचारप्रसार र जानकारी अभावले गर्दा पुरानो मणिमण्डपमा आउन सकिरहेका छैनन् । जानकी मन्दिरको छेउमै रहेको मडवाको दर्शन गर्दै प्रचारप्रसार र जानकारी अभावले गर्दा जानकी मन्दिरबाटै फर्किने गरेका छन् । केही विदेशी भने गुगल सर्च गर्दै आउने गरेको स्थानीय बताउँछन् । पहिलेको तुलनामा मणिमण्डपको रुप फेरिएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।
मन्दिरका पुजारी वासुदेव राउतका अनुसार करिब १२ वर्षपहिले भारतका जयपुर बस्ने रामप्रसाद अग्रवाल र कुसुम अग्रवाल निकै भावुक हुँदै आएका थिए । उनीहरुको विवाह भएको लामो समय भएर पनि सन्तान प्राप्ति नभएकाले सन्तान प्राप्ति भएमा आफूले पक्की मन्दिर र मूर्ति बनाइदिने भाकल गरेका थिए । केही समयभित्रै जुम्ल्याहा सन्तान एक छोरा र एक छोरी प्राप्त भएपछि सो दम्पतीले मन्दिरमा आएर तीन महिनासम्म लगातार हवन गर्दै ई. सं. २००७ जुन १७ तारिखमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले उद्घाटन गरेको शिलालेखमा उल्लेख छ ।

यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका पिगौना बस्ने शिवनन्दनप्रसाद साह र पिंकीदेवी साहको विवाह भएको १८ वर्ष बितिसक्दा पनि सन्तान नभएपछि मन्दिरमा आएर पुजारीलाई भन्दै आफूहरुलाई सन्तान प्राप्त भए हनुमानको मन्दिर बनाइदिने भाकल गरेका थिए । भाकल गरेको केही समयमै साह दम्पतीलाई समेत जुम्ल्याहा छोरा र छोरी भएको बताइएको छ । उनीहरुले पनि २०७४ साल असार ११ गते दिन निर्माण गरेको मन्दिर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले उद्घाटन गरिसकेका छन् । यसरी नै मन्दिरमा आएर आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ भाकल गर्नेहरुको इच्छा पूरा भएपछि मणिमण्डपप्रतिको धार्मिक विश्वास थप प्रगाढ हुँदै गएको छ ।
प्रकाशित समय १२:१६ बजे
















