गृहपृष्ठ समावेशी, समानुपातिक र संघीयता सहिदको देन : मुख्यमन्त्री
समावेशी, समानुपातिक र संघीयता सहिदको देन : मुख्यमन्त्री
फाइल तस्बिर
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा संघीयता, समावेशी तथा समानुपातिकजस्ता उपलब्धी सहिदको देन रहेको बताएका छन् ।
महोत्तरीको सदरमुकाम जलेश्वरको जिरोमाइलमा नवनिर्मित ‘मधेश आन्दोलनका सहिदको शालिक’ अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेसलगायत देशका सातवटै प्रदेशमा अहिले आफ्नो शासन, प्रशासन सबै सहिदको देन भएको उल्लेख गरे । मधेस आन्दोलनका क्रममा वि.सं. २०७२ भदौ २३ र २५ गते महोत्तरीको जलेश्वरमा सहिद भएका रोहन चौधरी, गणेशप्रसाद चौधरी, रामविवेक यादव, वीरेन्द्र विच्छा, अमित कापर र रामशीला मण्डलको शालिक अनावरण तथा शहीद बाटिका उद्घाटन कार्यक्रममा उनले मधेस आन्दोलनका क्रममा आफ्नो ज्यानका आहुति दिएर सहिदले कोरेको बाटोमा आफूहरु सधैँ हिँडिराख्ने तथा सबै हकअधिकार प्राप्त नगरुञ्जेल संघर्ष जारी राख्ने बताए ।
राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशका जनता सुरक्षित, शिक्षित, रोजगार तथा देशको प्रत्येक तहतप्कामा समानरुपमा अवसर पाउनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा राजनीतिक विश्लेषक सिके लाल, प्रदेश नं २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लाललगायतले देशका सबै राजनीतिकर्मीलाई सहिदले जुन उद्देश्यको कामना गर्दै सहादत दिएका छन् ती उद्देश्य पूरा गर्न सधैँ तत्पर रहन सुझाव दिए ।
प्रदेश नं २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाको सहयोग तथा जलेश्वर नगरपालिकाको समन्वयमा जलेश्वर नगरपालिका–२ स्थित जिरोमाइलमा नव निर्मित सहिदको शालिक तथा सहिद वाटिका अनावरण कार्यक्रम जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रको अध्यक्षतामा भएको थियो ।
रासस
प्रकाशित समय १८:५६ बजे
















