गृहपृष्ठ खाेप्रा लेकमा हराएका ४ जनाको सकुशल उद्धार

खाेप्रा लेकमा हराएका ४ जनाको सकुशल उद्धार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर हराएका ४ जना लाई सिम्रिक एयरले सकुशल उद्धार गरेको छ ।

उनीहरुलाई दुई दिनपछि सकुशल उद्धार गरिएको हो । खोप्रा लेकदेखि नारच्याङ बेशी गाउँ जाने क्रममा बिहीबार दिउँसोदेखि हराएका उनीहरु शनिबार दिउँसो अन्नपूर्ण ४ को रेलेखर्कबाट सिम्रिक एयरले उद्धार गरेको हो ।

उनीहरुले बिहीबार साँझ फोनमार्फत् आफूहरु हराएको स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराएका थिए । मोवाइलमा कुरा भए पनि कहाँ छन् भन्ने पत्ता लाग्न सकेको थिएन् ।

टेन्ट र सुख्खा खानेकुरा साथै भएकाले उनीहरु सुरक्षित बसेका थिए । उनीहरुलाई गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल म्याग्दी जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुवँर, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाशकुमार माझी र स्थानीयबासीको पहलमा सिम्रिक एयरको हेलिकप्टरको रेस्क्यू टोलीले उद्धार गरेको हो । उनीहरुलाई अहिले नारच्याङ बेशीगाउँ ल्याइएको छ ।

बेपत्तामध्ये दुई जना चिकित्सक र दुई जना इञ्जिनियर हुन् । कैलालीको गेटा नगरपालिका ६ का २४ वर्षीय सुमन भट्ट, दोलखा चरिकोट ५ का २३ वर्षीय सञ्जित लामा, सर्लाही बरहतवा ४ का २४ वर्षीय अंकित शाह र २४ वर्षीय अविशेक महतो रहेका छन् । उनीहरु खोप्रादेखि नारच्याङ आउने क्रममा हिमपात भएपछि हराएका थिए ।

हराए लगतै सुरक्षाकर्मी, गाउँले र गोठालाहरुको टोलीले फेला पारेपछि हेलिकप्टर मगाएर सकुशल उद्धार गरेको म्याग्दी जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग ढकालले बताए । उनले भने, ‘शुक्रबार दिनभर खोजी गरि ठाउँ पत्ता लगायौं, त्यस लगत्तै शनिबार हेलिकप्टर मगाएर उद्धार गरेका हौ ।’

उनीहरु खोप्रा लेकको सामुदायिक लजमा खाना खाएर नारच्याङतर्फ हिँडेलगत्तै हिउँ पर्न सुरु भएको थियो । उनीहरुपथ प्रर्दशकबिनै पदयात्रामा आएका थिए । घना जंगल, भीर र बाक्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई थियो ।

प्रकाशित समय ०९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु