गृहपृष्ठ वेसीशहर नगरपालिकाद्वारा १२ ऐन स्वीकृत

वेसीशहर नगरपालिकाद्वारा १२ ऐन स्वीकृत

वेसीशहर नगरपालिकाको छैटौँ नगरसभाले संशोधित बजेट, कानून, ऐन नियम र कार्यविधि स्वीकृत गरेको छ ।

नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरेको नगरसभाले १२ ऐन, नियम र कार्यविधि स्वीकृत गरेको छ । शनिबार सम्पन्न नगरसभामा चालू आर्थिक वर्षका लागि कूल संशोधित बजेट ७३ करोड ९८ लाख ४८ हजार रूपैयाँ स्वीकृत गरेको र हालसम्म १३ करोड ६९ लाख २६ हजार रूपैयाँ खर्च भएको जानकारी दिइएको थियो ।

स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक, पूर्वाधार, सुशासन, खेलकुद र नगर प्रहरी विधेयकलगायतका रहेका छन् । यसैगरी शिक्षा ऐन २०७४ को संशोधन, सार्वजनिक खरीद नियमावली, तालीम सञ्चालन तथा व्यवस्थापन, महिला विकास कार्यक्रम सञ्चालन, पशु विकास, सार्वजनिक समारोह, स्वास्थ्य संस्था सञ्चालनलगायतका कार्यविधि २०७६ लाई सभाले पारित गरेको छ ।

उपप्रमुख लक्ष्मीदेवी अधिकारीले संशोधित बजेट तथा ६ महिनाको अवधिमा भएको प्रगति विवरण प्रस्तुत गरेको थियो । प्रतिवेदनमा आन्तरिक आय चालू वर्षका लागि तीन करोड २८ लाख १० हजार रूपैयाँ अनुमानित गरिएकामा हालसम्म एक करोड ५७ लाख ३० हजार रूपैयाँ प्राप्त भएको उल्लेख गरिएको छ ।

त्यस्तै, चालू वर्षका लागि नगरका कूल ४०० योजना रहेकामा हालसम्म ५० प्रतिशत सम्झौता भएको र ३१ योजना सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

नगरप्रमुख अर्यालले पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणमा केन्द्रित रहेको बताए । उनले इमन्दारिता र आर्थिक पारदर्शिताका आधारमा काम अघि बढाइएकोले सबै पक्षको सकारात्मक सहयोगले काम गर्न थप ऊर्जा मिलेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले आर्थिक पक्ष, ऐन तथा कार्यविधि प्रस्तुत गरेका थिए । (रासस)

प्रकाशित समय ०८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु