गृहपृष्ठ सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन

सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन

गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख सुदीप पन्तका अनुसार विद्यालयमा आइटिसी सामग्री कार्यक्रम सञ्चालनका लागि सहजता प्रदान गर्न नेपाल युथ फाउन्डेशन र गण्डकी गाउँपालिकाको सहकार्यमा ती सामग्री उपलब्ध गराइएको हो । उनले भने, फाउन्डेशनले सबै सामग्री खरीद गरी प्रत्येक विद्यालयलाई एक|एक थान ल्यापटप र टेलिभिजन वितरण गरेको छ ।’ ल्यापटप र टेलिभिजन खरीदका लागि गाउँपालिकाले फाउण्डेशनलाई पाँच लाख उपलब्ध गराएको उनले बताए ।

सामग्री खरीदका लागि आवश्यक थप ३० लाख फाउन्डेशनले व्यहोरेको प्रमुख पन्तको भनाइ छ । ‘कोरोना संक्रमणका कारण विद्यालयमा अनलाइन कक्षाको विकास गर्नुपर्छ भन्ने अनुभूति सबैलाई भएको छ,’ उनले भने, ‘कम्तीमा एउटा कम्प्युटर र एउटा टिभी उपलब्ध गराएका विद्यालयमा आइटिसी कक्षामा विद्यार्थीले अनलाइन प्रविधिको माध्यमबाट पढ्न पाउँछन् ।’ उनले कम्प्युटर र टेलिभिजन उपलब्ध गराएका विद्यालयहरुले अब अनलाइन प्रविधिको प्रयोग गरी भिडियोमार्फत कक्षा सञ्चालन गर्न सक्ने अवस्था भएको बताए । ‘सबै विद्यालयका एकजना शिक्षकलाई तालीमसमेत दिएर पठाइएको छ,’ प्रमुख पन्तले भने ।

प्रकाशित समय १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु