गृहपृष्ठ बागमती प्रदेश लोकसेवा आयोगले माग्यो एक हजार कर्मचारी
बागमती प्रदेश लोकसेवा आयोगले माग्यो एक हजार कर्मचारी

बागमती प्रदेश लोकसेवा आयोगले पाँचौँ तहमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले एक हजार १५२ कर्मचारी माग गर्दै विज्ञापन आह्वान गरेको छ ।
बागमती प्रदेशका चारवटा मन्त्रालय र विभिन्न जिल्लाका ६२ स्थानीय तहमा रिक्त रहेका स्थानमा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय र ६२ स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरिएको छ ।
आयोगले आन्तरिक तथा बाह्य जनशक्तिमार्फत रिक्त दरबन्दी परिपूर्ति गर्न लागेको हो । पाँचौँ तहका लागि खुलामार्फत ५३८, ज्येष्ठतातर्फ ४०७, कार्यक्षमतामार्फत १९६, आन्तरिक प्रतियोगितातर्फ नौ र कार्यसम्पादनमार्फत दुई जनाको पदपूर्ति गरिनेछ । यसअघि आयोगले पहिलोपटक चौथो तहका ४६९ कर्मचारी माग गरेको थियो ।
आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा ३६ र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाबाट ३६ गरी प्रशासनिक तथा प्राविधिकतर्फ चौथो तहमा ८१ जना पदपूर्ति गर्ने र खुलातर्फ ३८८ सहित महिला, आदिवासी जनजाति, मधेसी, दलित तथा अपांगता भएकासमेत रहने गरी चौथो तहको रिक्त पदमा पदपूर्तिका लागि गरिएको विज्ञापन कार्यान्वयनको क्रममा रहेको जनाएको छ ।
प्रकाशित समय १३:४९ बजे