गृहपृष्ठ सुकुम्वासी बस्तीमा डोजर
सुकुम्वासी बस्तीमा डोजर
पटकपटक सार्वजनिक जग्गाका घर टहरा हटाउन सूचना टाँस गर्दासमेत अटेर गरेपछि कपिलवस्तुको बुद्धभूमी नगरपालिका–२ जयनगरमा शुक्रबार डोजर लगाएर घर तथा पसल भत्काइएका छन् । डिभिजन वन कार्यालय, बुद्धभूमि नगरपालिका, त्रिशूली सामुदायिक वन र स्थानीय नागरिकको अगुवाइमा घर पसल भत्काइएको हो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र शसस्त्र वन रक्षकको सहभागितामा भत्काइएकामध्ये अधिकांश खाजा नास्ता बनाउने पसल रहेका थिए । पटकपटक उक्त क्षेत्रको अतिक्रमण खाली गर्न र अन्यन्त्र स्थानान्तरण हुन अनुरोध गरे पनि अतिक्रमणकारीले अटेर गरेपछि डोजर लगाएर भत्काइएको सामुदायिक वनका अध्यक्ष निलकुमार श्रेष्ठले जानकारी दिए ।
गोरुसिङ्गेमा बसपार्कको अभाव भएकाले यहाँ ‘रिफ्रेस सेन्टर’ बनाउने निर्णय भएपछि घर टहरा हटाउनु परेको उनको भनाइ थियो । अतिक्रमित क्षेत्रमा डोजर प्रयोग गर्नुअघि तीन महिना, एक महिना, १५ दिन हुँदै एक हप्ताको सूचना टाँसेर सो क्षेत्र खाली गराउन खोज्दा पनि अटेरी गरेपछि डोजर प्रयोग गरिएको डिभिजन वन कार्यालयका प्रमुख इश्वरी पौडेलले बताए ।
जयनगर बजारसँगै जोडिएको वनको जमिन दिनहुँ अतिक्रमणमा परेपछि बाध्य भएर जङ्गल जोगाउन अतिक्रमण हटाइएको र अन्य ठाउँमा पनि यही कार्य अपनाइने वन कार्यलयले जनाएको छ । वन अतिक्रमण गरेर बसेकाले आफूहरुको बासस्थानकोे कुनै व्यवस्था नहुँदा सार्वजनिक जग्गामा बस्नु परेको बताएका छन्
प्रकाशित समय १९:०७ बजे

















