गृहपृष्ठ पर्यटकीय क्षेत्रको विकासमा जुट्दै प्रदेश मन्त्रालय
पर्यटकीय क्षेत्रको विकासमा जुट्दै प्रदेश मन्त्रालय
प्रदेश ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कपिलवस्तुका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेको छ । कपिलवस्तु महाराजगन्जको भिल्मीमा रहेको अजिगरा तालको अध्ययन अवलोकन गरेको पर्यटनमन्त्री लीला गिरीले जानकारी दिइन् ।
प्रदेश ५ का विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने मन्त्रालयको योजना छ । ९० बिघामा फैलिएको अजिगरा तालमा जंगली धान पाइने स्थानीय एवं पूर्व राज्यमन्त्री किशोरदयाल मिश्रले जानकारी दिए ।
सरकारले सञ्चालन गरेको सिमसार आयोजनाले जंगली धानको संरक्षणमा जोड दिँदै आएको छ । सन् २००९ देखि सञ्चालनमा रहेको आयोजनाअन्तर्गत जंगली धानको संरक्षणलाई प्राथमिकता दिइएको हो ।
कपिलवस्तुका विभिन्न क्षेत्रमा रहेको जंगली धानको संरक्षणका लागि आयोजनाले स्थानीय निकायसँग मिलेर संरक्षण अभियान चलाएको छ । कृषि विज्ञहरुका अनुसार जंगली धानबाटै अहिले खेती गरिँदै आएको धानको विकास भएको हो । तराईमा मनाइने जितिया पर्वका अवसरमा जंगली धान मिसाएको चामल खानुपर्ने धार्मिक प्रचलन छ ।
यसैगरी, मन्त्रालयले चार सयभन्दा बढी विद्यार्थी पढ्ने कपिलिवस्तुको महराजगन्ज नगरपालिका–१ मा रहेको दुर्गा भवानी कन्या निमाविको पनि अवलोकन गरेको छ । विद्यालयको कार्यालय सहयोगीदेखि सबै कर्मचारी महिला छन् । महिलाको मात्र पढाइ हुने विद्यालय उक्त क्षेत्रकै नमुना मानिन्छ ।
प्रकाशित समय १८:३५ बजे
















