गृहपृष्ठ लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार

पूर्वीय दर्शनको विकासका लागि अनुसन्धानमा जोड

seminar-newskarobar अन्तर्राष्ट्रिय सेमिनार उद्घाटन समारोह

बुद्धजन्मस्थल लुम्बिनीमा पूर्विय दर्शनको विविधता विषयमा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एसियाली प्राकृतिक दर्शनको विविधिकरण विषयमा सेमिनार सुरु भएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्वानको सहभागिता रहेको छ । विज्ञान सभ्यताअघिको प्राचीन सभ्यताको पूर्नउत्थान, खोज अनुसन्धान र प्रवर्द्धन गर्ने उद्देश्यले यो सेमिनार आयोजना गरिएको हो ।

दुई दिनसम्म चल्ने सेमिनारमा तीन देशका विज्ञहरुले २४ वटा कार्यपत्र प्रस्तुत गर्दैछन् । पूर्वीय दर्शनको प्रभाव विश्वव्यापीकरण भइरहेका बेला यसको अध्ययन पूर्वी क्षेत्रबाट नै हुनुपर्ने लक्ष्यसहित आयोजना भएको सेमिनारले आगामी दिनमा खोज अनुसन्धानका लागि कार्यदिशा तय गर्नेछ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीमा आयोजित सेमिनारको उद्घाटन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति एव रजिष्ट्रार तिलक आचार्यले पूर्वीय सभ्यताले विश्वलाई मार्गदर्शन गरेको बताउँदै यसको थप खोज अनुसन्धानका लागि विश्वविद्यालयले काम थालेको बताए । चीन, भारत, श्रीलंका लगायत देशका विश्वविद्यालयसँग सहकार्य गरी बौद्ध दर्शन र यसको विकासको काम सुरु भएको उनले बताए ।

‘पूर्वीय सभ्यताले विश्वलाई नै शान्तितर्फ प्रेरित गरेको छ, त्यसको मुहान नै लुम्बिनी हो,’ उनले भने ‘लुम्बिनीबाट नै विश्वशान्ति र बौद्ध दर्शनको शुरुआत भएको छ ।’ उनले पूर्वीय दर्शनलाई विज्ञानसम्म अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै बेइजिङ नर्मल युनिर्भसिटीका प्राध्यापक लिउ स्याओ थिङ्गले पूर्वीय दर्शनलाई बहुआयामिक रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए । २६ सय वर्षअघि बुद्धले दिएका उपदेश झन् पछि झन् व्यवहारिक र प्रयोगसिद्ध भएको भन्दै यसले नै पूर्वीय दर्शनमा कति बल छ भन्ने दर्शाउने उनले बताए ।

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु