गृहपृष्ठ प्रदेश-५ : प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि
प्रदेश-५ : प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि
फाइल तस्बिर ।
प्रदेश-५ स्थित प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरू हुँदैछ । दिउँसो १ बजे सुरु हुने अधिवेशन कानुन निर्माणमा केन्द्रित हुने बताइएको छ ।
सरकारले प्रदेशसभालाई बिजनेश दिनका लागि १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने ४ वटा विधेयक प्रदेशसभामा दर्ता गरिसकेको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार १ बजे बैठक सुरु भएलगत्तै प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाउनेछन् ।
सभामुख घर्तीले दोश्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरु पनि पढेर सुनाउनेछन् ।
त्यसपछि दलको तर्फबाट प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुले बोल्नेछन् ।बिहीबार नै प्रदेशसभामा दुई विधेयक पेश हुनेछन् । प्रदेश नं. ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ संघसंस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
यस्तै बैठकमा विशेषाधिकार समितिको सभापति र प्रदेशको नामाकरण र स्थायी राजधानी सम्बन्धी विशेष समितिको संयोजक चयन गरेकोबारे सभामुखले सभालाई जानकारी गराउनेछन् । बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सभामुख घर्तीले सभालाई जानकारी गराउनेछन् ।
प्रकाशित समय १७:३४ बजे
















