गृहपृष्ठ सन २०३० सम्म नेपाललार्इ विश्वकै नम्बर वान पर्यटकीय गन्तव्य बनाउछौं : अधिकारी
सन २०३० सम्म नेपाललार्इ विश्वकै नम्बर वान पर्यटकीय गन्तव्य बनाउछौं : अधिकारी
२० लाख पर्यटक भित्र्याउनु ठूलो कुरा होइन
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पर्यटनको पहिलो गन्तव्य बनाउन सकिने बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको मंगलबार उद्घाटन गर्दै अधिकारीले भ्रमण वर्षसँगै सन २०२० मा २० लाख पर्यटक भित्रिएसँगै सबैको साथ सहयोगमा सन् २०३० सम्म नेपाल संसारकै पहिलो पर्यटनको गन्तव्य बनाउन सकिने बताए ।
‘हामीले हाम्रो आर्थिक विकास र समृद्धिको लागि सन २०२० मा भ्रमण वर्ष बनाउदै छौं,’ उनले भने, ‘यसमा निजी क्षेत्रको साथ र सहयोग आवश्यक पर्छ ।’ सरकारले नेपाल भ्रमण वर्षलाई सफल पार्न देश व्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेकोले सन २०२० मा पर्यटन क्षेत्रबाट १० प्रतिशत कुलग्राहस्थ उत्पादनमा योगदान हुने उनले दावी गरे ।
नेपालमा मात्र पर्वतीय सम्बन्धी अध्ययन गर्न सकिने बताएका उनले नेपालका हिमालहरु अरोहण समेत गर्न सकिने जनाए । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय एसियाकै ठूलो भएको दाबी गर्दै उनले अब संसारकै उत्कृष्ट र ठूलो संग्रहालय निमार्णमा नेपाल पर्वतारोहण संघलाई आग्रह गर्दै आवश्यक सहयोगको लागि मन्त्रालय तयार रहेको जनाए ।
हिमाल अरोहण सम्बन्धी नीति नियमदेखि कर संकलन गर्न समेत संघलाई सरकारले दिएकोले सरकारकै भूमिका संघमा रहेकोले जिम्मेवार ढंगले काम गर्न मन्त्री अधिकारीले निर्देशन दिए ।
कुनै ठाँउमा गएर एक रात बस्नेलाई पनि पर्यटक भन्न मिल्ने बताउदै मन्त्री अधिकारीले नेपालमा २० लाख पर्यटक पुर्याउन ठूलो कुरा नभएको बताए । बसबाट आउने करिब १० प्रतिशत पर्यटक पाँच तारे होटलमा बस्ने बताउँदै उनले बस तथा सडक मार्ग हुँदै नेपाल आएका पर्यटकहरुको समेत सही ढंगले तथ्यांक राख्नु पर्ने बताए ।
उक्त अवसरमा हिमाल आरोही कोरियन नागरिक ओम हिन गिल, संग्रहालय स्थापनामा सहयोग पुराउने हरिध्वज तुलाचन, भूमि केसी, झलक थापा, मुक्ति केसी लगायतका सम्मानित भएका छन् । संघका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । उक्त महोत्सवको अवसरमा टोनी हेगन र हिमाल सम्बन्धी पेन्टिङ प्रतियोगिता समेत संचालन भएको छ ।
प्रतियोगितामा २० जना कलाकारले सहभागिता जनाको पेन्टिङ प्रतियोगिता संयोजक विम्व कवि रमेश श्रेष्ठले बताए ।
हाल्फ म्याराथनमा सेनाका श्रेष्ठलाई उपाधि
मंगलबार पोखरा भएको हाल्फ म्याराथन (२१ किलोमिटर दौड) प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठले उपाधि जितेका छन् । काठमाण्डौंबाट सहभागी भएका श्रेष्ठले २३ जना प्रतियोगिलाई पछि पार्दै निर्धारित दुरी १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पार गरी उपाधि सहित ५० हजार प्राप्त गरे ।
सेनाकै कृष्ण बस्नेतले निर्धारित दुरी १ घण्टा २१ मिनेट ३८ सेकेण्डमा पार गरी दोश्रो भए भने सेनाकै खगेन्द्र भाटले निर्धारित दुरी १ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पार गरी तेश्रो भए । दोश्रोले २५ हजार उपविजेतालाई १५ हजार पुरस्कार प्राप्त गरे ।
१० किलो मिटर महिला तर्फ भएको दौडमा पनि सेनाकै खेलाडीले उपाधि जितेकी छिन् । निर्धारित दुरी ३५ मिनेट ३२ सेकेण्डमा पार गरी नेपाली सेनाकी सरिता वासीले उपाधि जितेकी हुन् । उनले उपाधि सहित २५ हजार प्राप्त गरिन् । सेनाकै रेसु बस्नेत दोश्रो र प्यूठानकी भूमि बुडा मगर तेश्रो भईन् । दोश्रो हुनेले १५ हजार र तेश्रो हुनेले १० हजार पुरस्कार पाए ।
अनौपचारिक रुपमा पोखरामा सोमबारदेखि सञ्चालन भएको महोत्सव बुधबारसम्म चल्ने महोत्सवका प्रमुख सल्लाहकार कुशल गुरुङले बताए । नेपाल पर्वतारोहण संघको आयोजनामा पोखराको रातोपहिरा स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सञ्चालन भएको महोत्सवमा ४० वटा स्टल रहेको संघका महासचिव कुल बहादुर गुरुङले बताए ।
विज्ञान, प्रविधि, खानाको परिकार, सूचना केन्द्र विभिन्न पर्यटकीय बस्तुहरुको समवेश गरी महोत्सवमा ४० वटा स्टलहरु उपलब्ध गराउने भएको अध्यक्ष लामाले जानकारी दिए ।
प्रकाशित समय १८:२८ बजे

















