गृहपृष्ठ कर्णाली प्रदेशसभाको बैठक काँग्रेसद्वारा अबरूद्ध
कर्णाली प्रदेशसभाको बैठक काँग्रेसद्वारा अबरूद्ध
सुर्खेत- प्रतिपक्षी दल नेपाली कांग्रेसकाे अबराेधका कारण कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको नवौँ बैठक अवरुद्ध भएपछि २४ घण्टाका लागि स्थगन भएको छ ।
प्रदेशसभा प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यले पहिलो र दोस्रो अधिवेशन चलेयता पहिलो पटक सभा अवरुद्ध गरेका हुन् । सभामुख राजबहादुर शाहीले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई पाँच मिनेट बोल्ने समय दिएका थिए । उनले बोलेलगत्तै कांग्रेसका सदस्यले बैठक अवरुद्ध गरेका थिए ।
संसदीय दलका नेता शाहीले सरकारले तीन तीन विधेयक भिन्नाभिन्नै तरिकाले ल्याएपछि भिन्नाभिन्नै दफामा उल्लेख गर्नुपर्ने भन्दै प्रदेशसभा सदस्यको क्षमतामाथि प्रश्न गरेका थिए । उनले प्रदेश सरकारले रातो किताब र कर्णाली–रारा पर्यटन वर्ष २०७५ को यथार्थ खर्च सार्वजनिक नगरेसम्म बैठक चल्ने नदिने चेतावनी दिए ।
त्यससँगै कांग्रेसका सबै सदस्यले उभिएर मौन विरोध गर्दा सभामुख शाहीले बस्न अनुराेध गरेका थिए । सदस्यले बारम्बारको अनुरोध नमान्दा सभामुख शाहीले आधा घण्टाका लागि बैठक स्थगन भएको घोषणा गरे । आधा घण्टापछि बैठक चल्ने अवस्था नदेखिपछि सभामुख शाहीले यही जेठ २५ गते अपराह्न ३ बजे बैठक बस्ने जनाउँदै सूचना टाँस गरी बैठक स्थगन भएको जानकारी दिए ।
नीति तथा कार्यक्रम प्रभावित हुने
प्रदेशसभामा आज भएको अवरोधले शुक्रबार कर्णाली प्रदेश सरकारले ल्याउन लागेको आव ०७५/०७६ को नीति तथा कार्यक्रम प्रभावित हुने संकेत देखिएको छ । सरकारले भने शुक्रबार नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गृहकार्य गरिरहेको छ ।
-रासस
प्रकाशित समय ०८:५३ बजे
















