गृहपृष्ठ जेब्राक्रसबारे चालक र यात्रुलाई नै छैन जानकारी
जेब्राक्रसबारे चालक र यात्रुलाई नै छैन जानकारी
वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका २३ वर्षीय प्रकाश आचार्यले जेब्राक्रसबाट सडक पार गर्नुपर्ने जानकारी नपाएरै सिधै बीच सडकबाट बाटो काटे ।
वीरेन्द्रनगर बजार क्षेत्रको व्यस्त सडक मंगलगणी चौकमा हिंडिरहेका यस विषयमा उनलाई सोध्दा आफूलाई जेब्राक्रसको विषयमा जानकारी नभएको बताए ।
‘मलाई जेब्राक्रस केका लागि हो भन्ने कुरा थाहा थिएन,’ उनले भने, ‘सबै पैदलयात्रीलाई जेब्राक्रसको विषयमा जानकारी नहुन सक्छ । यस विषयमा सरोकारवाला निकायले जानकारी दिनुपर्छ ।’
वीरेन्द्रनगर ३ मुलपानी सुर्खेतकी शान्ति शर्माले समेत सडक पार गर्दा जेब्राक्रसको प्रयोग गरिनन् । उनीसँगै रहेका अन्य दुईजनाले समेत शान्तिले जस्तै सडक पार गर्दा जेब्राक्रसको प्रयोग गरेनन् ।
‘मलाई हतार थियो, शान्तिले भनिन्, ‘जेब्राक्रसबाट सडक पार गर्न अलिमाथि जानुपर्थ्यो । हतार भएकोले तलैबाट हिँडियो ।’
प्रकाश र शान्तिजस्तै जानकारी नभएर र हतारमा सडक पार गर्ने सर्वसाधारण सुर्खेतमा थुप्रै छन् । जसले गर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक हरीभक्त रोकायले बताए ।
‘धेरैलाई जेब्राक्रसको प्रयोगबारे चेतना छैन,’ उनले भने, ‘कोही जानकारी भएर पनि अटेर गरी हिँड्छन् ।’ वीरेन्द्रनगर बजार क्षेत्रमा पर्याप्त मात्रामा ट्राफिक संकेतहरुको आवश्यकता भए पनि नगरपालिकाले यस विषयमा चासो नदेखाएको उनले बताए । उनका अनुसार आर्थिक वर्ष ०७६/०७७ को पाँच महिनामा सुर्खेतमा सवारी दुर्घटनाको कारण १९ जनाको मृत्यु भइसकेको छ । जसमा ४७ जना सामान्य घाईते भएका छन् भने १९ जना गम्भिर घाईते भएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उदयसिंह सिजापतिले जनशक्ति अभावका कारण ट्राफिक नियमको उल्लंघन भए पनि अनुगमन गर्नसमेत नपाएको बताए ।
‘ट्राफिक चिह्नहरु सम्बन्धित नगरपालिकाले व्यवस्था गर्ने हो,’ उनले भने, ‘धेरैपटक वीरेन्द्रनगर नगरपालिकामा धाउँदासमेत कुनै सुनुवाई भएको छैन ।’
नागरिकलाई ट्राफिक नियमको पालनाको कुरा सिकाउन खोज्दा ट्राफिक चिह्न नभएको गुनासो गर्ने गरेको उनले बताए ।
किन आवश्यक छ जेब्राक्रस ?
व्यस्त सडकको बिचमा यात्रुलाई सडक पार गर्न सहजताको लागि जेब्राक्रस निर्माण गरिन्छ । दुर्घटनालाई कम गर्न यसले मद्दत गर्छ । जेब्राक्रस निर्माण गरिएको स्थानबाट पैदलयात्रुले सडक पार गर्नुपर्ने हुन्छ । सवारी चालकहरुले समेत जेब्राक्रसबाट यात्रुले सडक पार गर्दै गरेको अवस्थामा सवारी साधन रोक्नुपर्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार आवश्यक स्थानमा जेब्राक्रस राखिनुपर्छ । विभिन्न जक्शनहरु, विद्यालयको नजिक जेब्राक्रस राखिनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ मा आवागमन नियन्त्रणसम्बन्धी व्यवस्था रहेको छ । जसको दफा १३२ मा रहेको सवारी रोक्नुपर्ने व्यवस्थाअनुसार चालकले चलाइरहेको सवारी देहायको अवस्थामा रोकी आवश्यकताअनुसार उचित समयसम्म अड्याई राख्नु भन्ने व्यवस्था रहेको छ ।
प्रहरी वा यातायात निरीक्षकले सवारी रोक्न संकेत गरेमा, कुनै जनावर तर्सी बेकाबु हुने संभावना भई सो जनावर तत्काल जिम्मा रहेको व्यक्तिले सवारी रोक्न अनुरोध गरेमा, सवारी दुर्घटनाग्रस्त भई कुनै मानिस, जनावर वा सम्पत्तिको हानिनोक्सानी भएमा र जेब्रा क्रसिङमा मानिस ओहोरदोहोर गरिरहेको अवस्थामा वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने संकेत गरेमा सवारी साधन रोक्नुपर्ने व्यवस्था ऐनमा रहेको छ ।
त्यस्तै ऐनको दफा १३७ मा निर्धारित ठाँउबाट बाटो काट्नुपर्ने व्यवस्था समेत रहेको छ । जसमा जेब्राक्रस, सब-वे, ओभरहेड ब्रीज वा त्यस्तो बाटो काट्नको लागि निर्धारित गरिएका ठाँउबाट बाटो काट्नुपर्ने व्यवस्था रहेको छ ।
ट्राफिक संकेतको उल्लंघन गरेको खण्डमा ऐनको दफा १६४ बमोजिम यातायात निरीक्षक वा प्रहरी सहायक निरीक्षकले तत्काल सजाय गर्न सक्ने व्यवस्था रहेको छ । जसमा पहिलो पटक भए पाँच सय, दोस्रो पटक भए एकहजार र तेस्रो पटक एकहजार पाँच सयसम्म जरिवानाको गर्न सकिने व्यवस्था ऐनमा रहेको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको व्यस्त सडकमा समेत पर्याप्त मात्रामा ट्राफिक चिह्न छैनन् । बढ्दो शहरीकरण र जनसंख्यालाई ध्यानमा राखी सडक सुरक्षाको ग्यारेण्टी सम्बन्धित निकायले गर्नुपर्छ ।
प्रकाशित समय ०८:३२ बजे


















