गृहपृष्ठ जोखिममा रारा विमानस्थल, तीन सय घर संकटमा
जोखिममा रारा विमानस्थल, तीन सय घर संकटमा

सांसद गोपाल बमले मुगुको रारा विमानस्थल जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार संसद् बैठकमा विशेष समय लिएर उनले विमानस्थल र नजिकका बस्ती समेत जोखिममा रहेको बताए ।
सरकारले कर्णाली भ्रमण बर्स मनाइरहँदा कर्णालीको मुख्य हवाई केन्द्र रारा विमानस्थल जोखिममा रहेको घटनालाई महत्वपूर्ण लिएको छ । सांसद बमले भने ‘कर्णालीको रारा विमानस्थलबाट बगेको पानीले विमानस्थलमा पहिरो जान थालेको छ, र तलको बस्तीसमेत जोखिममा छ, तुरुन्त संरक्षणको पहल होस् ।’
रारा विमानस्थलबाट निकास भएको पानीले तीन वर्षदेखि कटान गर्दै जाँदा सयौँ घर जोखिममा परेका हुन् । छायाँनाथ रारा नगरपालिका –४ ताल्चामा रहेको रारा विमानस्थलबाट निकास भएको पानीले तीन सय घरधुरी जोखिममा परेको सांसद बमले बताए । सांसद बमले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसमक्ष रारा विमानस्थल संरक्षणको योजना बारे संसदमै जानकारी माग गरे ।
विमानस्थलको उत्तरतर्फ घट्टेखोला नदीसम्म चार किलोमिटर क्षेत्रमा बग्ने निकासीको पानीले १० हेक्टरबढी खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ । पानीसँगै पहिरो गएपछि खानेपानीका मूल, काठेपुल, गोरेटो बाटो, गमगढी पिना र गमगढी ताल्चा जोड्ने सडकलगायत भौतिक संरचनामा क्षति पुर्याएको छ । ०३९ बाट निर्माण कार्य सुरु भएर ०६१ वैशाखमा सुचारु भएको विमानस्थल दुर्गमका बासिन्दाका लागि जति सहयोगी बनेको छ । त्यो भन्दा कयौँ गुणा खतरा पनि बनेको छ ।
प्रकाशित समय १६:२४ बजे