गृहपृष्ठ कर्णाली गरीब थिएन तर बनाइयो : मुख्यमन्त्री शाही

कर्णाली गरीब थिएन तर बनाइयो : मुख्यमन्त्री शाही

mahendra shahi-newskarobar फाइल तस्बिर

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गरेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आइतबार आयोजित ‘स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी’को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै शाहीले कर्णाली क्षेत्रलाई गरीब बनाइएको जिकिर गरे ।

कर्णाली पछि पर्नुमा केही कारण दातृ निकाय तथा गैह्र सरकारी संस्था भएको संकेत गर्दै शाहीले भने, ‘हामीसँग पवित्र मुहान छन् तर पानी किनेर खान्छौं, कोदो, कागुनो, चिनो बिर्सेर बिस्कुट चियातिर लागेका छौं ।’ अरुको आशमा गर्ने कामले परनिर्भरता बढाउने भन्दै उनले स्थानीय तह न्यायिक समितिका पदाधिकारीलाई उच्च मनोबलका साथ नागरिकको सेवामा समर्पित भएर काम गर्न आग्रह गरे ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले हिजो न्यायको ढोकामा पुग्न नपाएका अधिकांश महिला आज न्याय दिलाउने नेतृत्व आफैले गर्नु गणतन्त्रात्मक शासन व्यवस्थाको सवल पक्ष भएको बताए । ‘जनतालाई सही सेवा दिने परीक्षामा सामेल हुनुहुन्छ, राम्रो परिणाम देखाउनुस्,’ उनले भने, ‘न्याय सम्पादनका लागि विगतका नजिर र संविधान अध्ययन आवश्यक छ ।’

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संविधान र कानुनले न्यायिक समितिका संयोजकलाई महत्वपूर्ण जिम्मेवारी दिएको तर्क गरे । उनले न्यायको तराजु सबैलाई समान गर्न आग्रह गरे । भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सदियौंदेखिको संघर्षबाट यो व्यवस्थामा महिलाले न्यायमूर्तिको काम गर्ने अवसर पाएकोले यसमा कत्ति पनि बिचलित नहुन सुझाए ।

कार्यक्रममा मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर र जिल्ला समवन्य समितिका प्रमुख छविलाल सिग्देलले न्याय सम्पादनका लागि न्यायिक समितिका पदाधिकारीलाई कानुनी प्रशिक्षण आवश्यक रहेको बताए । उक्त कार्यक्रममा सुर्खेत जिल्लाका नौ स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र कर्मचारीको सहभागिता थियो । क्षमता अभिवृद्धिको कार्यक्रम कर्णालीका १० वटै जिल्लामा सञ्चालन गरिने आयोजकले जनाएको छ । रासस ।

प्रकाशित समय १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु