गृहपृष्ठ पुराना पार्टी र बुढा नेताले मुलुक बिगारे : रविन्द्र मिश्र
पुराना पार्टी र बुढा नेताले मुलुक बिगारे : रविन्द्र मिश्र
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अबको दुई वर्षमा आफ्नो पार्टी पहिलो बन्ने दावी गरेका छन् । तर, त्यसका लागि जनताले विश्वास गर्नुपर्ने उनको भनाई छ ।
कर्णालीको राजधानी सुर्खेतको विरेन्द्रनगरमा शुक्रबार आयोजित नागरिक सम्मेलन तथा संगठन विस्तारमा मिश्रले जनताको साथ पाए विवेकशील साझा एक नम्बर पार्टी बन्ने बताए ।
‘देश त्यसै बिग्रिएको होइन, पुराना मानसिकता र बुढा नेताहरुका कारण देश बिग्रीएको हो,’ मिश्रले भने, ‘नेतालाई प्रत्येक निर्वाचनमा भोट हाली गरिब जनताले चुनाब जिताए । तर जनताले के पाए ?’
जनताले विश्वास गरे पनि नेताहरुले विश्वासघात गरेको उनको भनाई थियो । ‘गरिब जनताले भोट हालेर चुनाब जिताएका नेताको काठमाडौंमा दश तलाको घर छ तर जनता गाउँमा भोकै छ,’ मिश्रले भने, ‘नेता चिल्लो गाडि चढेर हिड्छ तर जनता खाली खुट्टा हिडेको छ ।’
मिश्रले विवेकशिल साझा पार्टीले देशको नेतृत्व लिन पाए भ्रष्टचार निर्मुल पार्ने दावी गरे । सम्पत्ती सुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा क्ष्ँमतावान् कर्मचारी नभएकै कारण देश भ्रष्ट भएको भन्दै मिश्रले स्वास्थ्य उपचारका लागि जग्गा बेची भूमिहीन बन्नुपर्ने परिस्थितीको सिर्जना भ्रष्ट नेताहरुकै कारण भएको बताए ।
सोही कार्यक्रममा विवेकशिल साझाका केन्द्रीय सदस्य केशब दाहालले देश नबन्नुको मुख्य कारण ठूला भनिएका पार्टीहरु नै भएको आरोप लगाए । विवेकशिल साझाकै केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले आफूहरु झुक्किएर पनि भ्रष्ट नहुने बताए ।
प्रकाशित समय १९:५२ बजे
















