गृहपृष्ठ कर्णाली प्रदेश : योजना आयोगका पदाधिकारीले लिए सपथ

कर्णाली प्रदेश : योजना आयोगका पदाधिकारीले लिए सपथ

प्रदेश प्रोफाइल निर्माण गर्ने पहिलो निर्णय

karnali-province-newskarobar

कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीहरुले आइतबार सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष डा. पुण्य रेग्मीलाई सपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री शाहीबाट सपथ ग्रहण गरे लगत्तै उपाध्यक्ष रेग्मीले आयोगका सदस्यहरु डा. दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई सपथ गराएका थिए ।

सपथ ग्रहणपछि उपाध्यक्ष रेग्मीले तत्काल आफूहरु पञ्चवर्षीय योजना निर्माणमा लाग्ने बताए । ‘अब तत्कालै कर्णाली प्रदेशको अहिलेको अवस्था देखाउने मानचित्र र समृद्ध कर्णालीको सपनाको मानचित्र तयार गर्छौं,’ उपाध्यक्ष रेग्मीले भने, ‘दुवै मानचित्रलाई अगाडि राखेर हामी समृद्ध कर्णाली निर्माणको दिशामा तदारुकताका साथ अगाडि वढ्छौं ।’

रेग्मीले चालु आ.व.को बजेट कार्यान्वयनको अवस्थालाई दृष्टिगत गर्दै २०७६÷७७ को एकवर्षीय योजना निर्माणमा पनि आयोग लाग्ने बताए । ‘हाल पुँजीगत बजेट खर्च हुन नसक्ने अवस्था छ,’ उनले भने, ‘आयोगको क्षेत्राधिकारभित्र रहेर अनुगमनको काम पनि प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

त्यस्तै योजना आयोगका पदाधिकारीहरुले आइतबारै पदवहाली गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा व्यवस्थापन गरिएको कार्यकक्षमा उपाध्यक्ष डा. रेग्मी, सदस्यद्वय डा. रोकाय र योगेन्द्र शाहीले पदवहाली गरेका हुन् ।

रेग्मीले पदवहालीसँगै कर्णाली प्रदेशको विकास मोडेल तयार गर्न कर्णाली प्रदेश प्रोफाईल निर्माण गर्ने पहिलो निर्णय समेत गरेका छन् ।

 

योजना अायोगको पहिलो बैठक
मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रवहादुर शाहीको अध्यक्षतामा आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न बैठकले प्रदेशको दिर्घकालीन विकास मार्गदर्शनको रुपमा प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र चालु आ.व.भित्रै तयार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट तथा योजना तयार गर्न सघाउ पुग्ने गरी वार्षिक योजना तयार गर्ने निर्णय समेत गरेको सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

निरौलाका अनुसार चाल आ.व.को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमण मूल्यांकन निर्देशिका तयार गरी प्रभावकारी अनुगमणको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले परियोजना बैंक तयार गर्ने, कर्णाली प्रदेशको दीर्घकालीन गुरुयोजना तयार गर्ने, कर्णाली प्रदेशको वास्तविक अवस्था पहिचान सहितको तथ्यांक, सूचांक र प्रारुप तयार गर्ने, लगायतका निर्णय गरेको छ ।

आयोगको कामलाई प्रभावकारी वनाउन आवश्यक कार्ययोजना र कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । वैठकमा योजना आयोगका पदाधिकारी तथा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता थियो ।

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु