गृहपृष्ठ राम-जानकी विवाह महोत्सको तयारी तीव्र
राम-जानकी विवाह महोत्सको तयारी तीव्र
जानकी मन्दिर जोड्ने जीर्ण सडक धमाधम मर्मत हुँदै
जनकपुरधाममा मंसिरको अन्तिम सप्ताह हुन लागेको राम-जानकी विवाह महोत्सवलाई लक्षित गर्दै जनकपुरको सडक धमाधम सजाइँदैछ । वर्षौंदेखि जीर्ण र दुरावस्थामा पुगेको जनकपुरधामको सडक अहिले एबिडी परियोजनाको सहयोगमा रातदिन नभनी निमार्ण भइरहेको छ ।
जानकी मन्दिरलाई जोड्ने सडकहरु सजाउने काम भइरहेको छ । जानकी मन्दिरदेखि पश्चिम अञ्चल अस्पताल हुँदै रामानन्दचोक जाने बाटो, जानकी मन्दिरदेखि उत्तरतर्फ पुरानो टेलिकम हुँदै देवीचोक र मिल्स एरिया जाने बाटो, जानकी मन्दिरदेखि पूर्व जनकचौक र दक्षिणतर्फ जाने सोनारपटटी र राजदेवी मन्दिर जोड्ने सडकको पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
मंसिर २६ गते ठूलो संख्यामा जनकपुरधाम आउने श्रद्धालुभक्तजनहरुलाई मध्यनजर गर्दै अहिलेदेखि नै दिनरात काम भइरहेको एडिबी परियोजना हेर्ने जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर विरेन्द्र यादवले बताए ।

जनकपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले जानकी मन्दिर जोड्ने सडकहरुमा काम भइरहेकाले श्रद्धालु भक्तजनलाई केही समस्या भएको स्वीकारे । निर्माण कार्यका कारण जानकी मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनलाई केही समस्या भएको उनको भनाई थियो । सडक निर्माणका कारण उद्योगी, व्यवसायीहरुलाई समेत तत्कालका लागि केही समस्या भएको उनले बताए ।
धमाधम सडक निर्माणकै कारण स्थानीयलाई समेत जानकी मन्दिर पुग्न समस्या भएको छ । तर अबको केही दिनमै जानकी मन्दिर जोड्ने चौतर्फी बाटो निमार्ण र सजाउने काम सम्पन्न भएपछि यहाँको रौनकता र सौन्दर्य बढेर जानेमा स्थानीय आशावादी छन् । सडक निर्माण सम्पन्न भएपछि राम–जानकी विवाह महोत्सवमा आउने श्रद्धालुभक्तजन, स्वदेशी तथा विदेशी पर्यटकहरुलाई समेत सहज हुने स्थानीयको भनाई छ ।

मंसिर २६ गते हुने विवाह महोत्सवको लागि एक हप्ता पहिलेदेखि नै जनकपुरधाममा ठूलो संख्यामा साधु, सन्त, महन्थ र स्वदेशी तथा विदेशी पर्यटकहरु आउने भएकाले मंसिर २० गतेभित्रमा सडक निमार्ण हुने गरी काम भइरहेको एडिबी परियोजनाका बरिष्ठ इन्जिनियर विरेन्द्र यादवले न्युज कारोबारलाई जानकारी दिए ।
यता, एडिबी परियोजनाका फिल्ड सुपरभाइजर श्याम यादवका अनुसार जानकी मन्दिरदेखि रामानन्दचौकसम्मको सडकमा विवाह महोत्सवअगाडि नै कालोपत्र हुनेछ । अहिले सडक खन्ने काम राती २ बजेसम्म हुँदै आएको बताउदै उनले १४ वटा स्काइभेटर, ६ वटा जेसिबी तथा १५० जनाको हाराहारीमा कामदार लगाएर २४ सै घण्टा काम गर्दै आएकाले लक्ष्य अनुसार सडक बन्ने उनको दावी छ ।
यो पनि पढ्नुहोस् ।
रामजानकी विवाह महोत्सवको तयारीमा मुख्यमन्त्री राउतको चासो
सीता-रामको स्वयम्बर २६ गते, सोही दिन विवाह
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउने
प्रकाशित समय १८:४८ बजे

















