गृहपृष्ठ महिलाहरु काम गर्ने मेसिन होइनन् : रावल
महिलाहरु काम गर्ने मेसिन होइनन् : रावल
महिलाहरुलाई काम गर्ने मेसिनको रुपमा मात्रै हेरिन नहुने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आइतबार आयोजित गरिएको दीपप्रज्वलन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘हाम्रो समाजले महिलाहरुलाई काम गर्ने मेशिनको रुपमा मात्रै हेर्ने गरेको छ । यसको अन्त्य हुनु जरुरी छ,’ मन्त्री रावलले भने, ‘विभिन्न धर्म, संस्कार र सम्पत्तिका नाममा महिलाहरु माथि हिंसा भएको छ ।’

हिंसाबाट पीडित महिलाहरुका लागि प्रत्यक्ष लाभ पुग्नेगरी प्रदेश सरकारले काम गर्ने उनले बताए । वीरेन्द्रनगर नगरपालिको आयोजना गरेको कार्यक्रममा नवज्योती केन्द्र, सुर्खेत नेत्रहीन संघ, स्याक नेपाल, आवाज संस्था सुर्खेत लगायतका संघसंस्थाहरुले समन्वय गरेका थिए ।
अंग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय रुपमा महिला हिंसा अभियानको रुपमा मनाइन्छ । नेपालमा पनि यहि मंसिर ९ गते देखी २४ गतेसम्म विभिन्न कार्यक्रमहरुको अयोजना गरी महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइँदै छ । यसै अवसरमा आइतबार सुुर्खेतमा र्याली प्रदर्शन तथा दीप प्रज्ववलन गरिएको छ ।
प्रकाशित समय १९:३३ बजे

















