गृहपृष्ठ कारागारका कैदी महिलालालाई ब्युटिपार्लर तालीम
कारागारका कैदी महिलालालाई ब्युटिपार्लर तालीम
कारागार कार्यालय सुर्खेतमा रहेका १२ जना महिला कैदीबन्दीहरुका लागि ब्युटिपार्लरको तालीम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योगको सहयोगमा उक्त तालीम सञ्चालन गरिएको कारागार कार्यालय सुर्खेतका निमित्त जेलर जंग बहादुर थापाले जानकारी दिए ।
उनले भने, ‘कैदीबन्दी महिलाहरुले पटक पटक आफूहरुलाई तालीमको व्यवस्था गरिदिन माग गरेपछि तालीम आयोजना गरिएको हो । यसको लागि घरेलुले १२ जना महिलालाई भित्रै बेसिक लेबलको तीन महिने तालीमको लागि सहयोग गरको हो ।’
कारागारमा कैदीबन्दीहरुलाई दिन बिताउँन अप्ठ्यारो हुने र सजाय मुक्त भएपछि पनि समाजमा स्थापित हुन सजिलो हुने भएकोले यस्ता खालको तालीमको आयोजना गर्दै आएको जेलर थापाको भनाइ रहेको थियो ।
कारागारमा बस्दै आएकी तुल्सी परियार सजायमुक्त भएपछि ब्युटिपार्लर खोलेर बस्ने सपना भएकोले यो सिपले समाजमा स्थापित हुन सहज हुने बताउँछिन् ।
त्यस्तै करिब ७ वर्ष पहिलेदेखि बन्दी जीवन विताइरहेकी अमृता देबकोटा अझै ३ वर्ष कारागारमै बस्नु पर्ने भएकोले यो अवधिमा सिकेको सिपले समाजमा स्थापित हुन सजिलो हुनेमा आशावादी छिन् ।
ब्युटिपार्लर प्रशिक्षक प्रमी शाक्यले सिप सिक्नको लागि कारागारका महिलाहरु उत्साहित भएको बताउँछिन् । कारागार कार्यालय सुर्खेतमा रहेका २ सय ३८ जना कैदीबन्दी मध्ये महिला २१ जना रहेका छन् । जसमध्ये तालीमका लागी १२ जना महिला कैदीबन्दी छनौट भएका छन् । उनीहरुका लागि कारागार कार्यालयमै प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।
प्रकाशित समय १९:२१ बजे
















