गृहपृष्ठ साँफे-मार्तडी सडकको नयाँ भाडादर १६५ रुपैयाँ
साँफे-मार्तडी सडकको नयाँ भाडादर १६५ रुपैयाँ
मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ । कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर १६५ रूपैयाँ कायम गरिएको छ यस अघि जीपले ६०० रुपैयाँ र बसले ५०० रुपैयाँ भाडा लिँदै आएका थिए ।
यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने, ‘अब यात्रुले मार्तडीदेखि साँफेबगरसम्म १६५ रुपैयाँ भाडा तिरे पुग्छ । नयाँ भाडादरअनुसार यात्रु नबोकेमा र भाडा पुरानै लिइएको पाइएमा कारवाही गर्छौ ।’
जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण व्यवसायी सम्बद्ध संस्थाका प्रतिनिधिलाई भाडादरबारे जानकारी गराई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ ।
बाइस वर्षपछि निर्माण सम्पन्न भएको सो सडकमा कालोपत्रे भइसक्दा पनि महँगो भाडा तिर्न बाध्य थिए । अव साँफेसम्मको भाडा घटेसँगै १३ सय रुपैयाँ रहेको धनगढीसम्मको भाडामा ३३५ झर्ने भएको छ ।
मार्तडी साँफेसम्मको ५७ किलोमिटर र साँफेदेखि धनगढीसम्मको २६० किलोमिटर सडकमा बराबरी भाडा थियो । कच्ची बाटोकै बाहनामा व्यवसायीले मार्तडी–कोल्टी ४३ किलोमिटरमा ८ सय, मार्तडी–डोगडी करिब ३६ किलोमिटरमा ७ सय भाडा उठाउँदै आएका छन् । (रासस)
प्रकाशित समय ०८:५७ बजे
















