गृहपृष्ठ कर्मचारीको अभावमा स्थानीय तहमा समस्या

कर्मचारीको अभावमा स्थानीय तहमा समस्या

sthaniya-taha-newskarobar

जनप्रतिनिधी पाएको वर्षदिन बितिसक्दा पनि आवश्यक कर्मचारी नहुँदा स्थानीय तहका काम कारवाही प्रभावित भइरहेका छन् । नेपाल पत्रकार महासंघ कञ्चनपुरले शुक्रबार आयोजना गरेको ‘स्थानीय तह र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा कञ्चनपुर बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले कर्मचारी अभावकै कारण समस्या भएको दुखेसो पोखे ।

‘स्थानीय तहमा कर्मचारी अभावले धेरै काम प्रभावित बनेको छ’, उनले भने, ‘सडक, शिक्षा, खानेपानीलगायत विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौं, तर आवश्यक कर्मचारी नहुँदा ती काम प्रभावित भएका छन् ।’

उनले दैजी–बेलडाँडी सडक टेण्डर भएको दुई वर्षमा पनि बन्न नसकेको उल्लेख गर्दै भने, ‘वडा कार्यालय स्थापना गरेर काम अगाडि बढाएका छौं तर कर्मचारी अभावका कारण धेरै समस्या भइरहेको छ ।’

बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले स्थानीय तहमा सरकारले पठाएको कर्मचारीको संख्या र तीमध्ये आए-नआएको विवरण पेश गर्दै भने, ‘सिंहदरबार गाउँमै आएको भनेको छ, हामी जनप्रतिनिधिहरु पनि त्यहीअनुसार सुविधा खोजिरहेका छौं ।’

नगरप्रमुख चन्दले भने, ‘एक हजार ६ सय कर्मचारी सरकारले स्थानीय तहमा खटाउँदा तीन सय जनामात्रै खटिएको ठाउँमा आएको स्थिति छ ।’ उनले कर्मचारीबाट स्थानीय तहलाई असहयोग भइरहेको गुनासो पोखे ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले धेरै चुनौतीकाबीच आफू काम गरिरहेको बताए । ‘हामीले सबै वडामा आवश्यकताअनुसार समान खालको विकासका कार्यक्रम अघि बढाएका छौं’ ऐरले भने, ‘त्यसको पारदर्शिता र नगरको सुशासनका विषयमा सञ्चारकर्मीले पनि अनुगमन गरिदिनु पर्छ ।’

सञ्चारमैत्री नगर बनाउने घोषणासहित नगरपालिकाले सञ्चार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि बजेटको व्यवस्थासमेत गरेको नगरप्रमुख ऐरले जानकारी दिए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले सिंहदरबार गाउँमा आएसँगै त्यहाँको विकृति पनि गाउँमा आउनसक्नेतर्फ सचेत हुनुपर्ने धाराणा राखे ।
(रासस)

प्रकाशित समय १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु