गृहपृष्ठ प्रथम प्रदेश स्तरीय डोरीतानको उपाधि मोरङलाई (फोटो फिचरसहित)
प्रथम प्रदेश स्तरीय डोरीतानको उपाधि मोरङलाई (फोटो फिचरसहित)
प्रदेश १ को राजधानी विराटनगरसँग सीमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा सम्पन्न प्रथम प्रदेशस्तरीय डोरीतान खेल प्रतियोगिताको उपाधि मोरङले जितेको छ । प्रदेश सरकार सामाजिक मन्त्रालयले नेपालमै पहिलो पटक सरकारी लगानीबाट बुढीगंगा गाउँपालिका स्थित नगरग्राम माध्यामिक विद्यालयमा आयोजना गरेको प्रतियोगिताको उपाधि मोरङले जितेको हो ।
मोरङले फाइनल राउन्डमा भोजपुरलाई पराजित गरेको हो । उपाधिसँगै विजेता टोली मोरङले नगद ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त हात पारेको छ । उपविजेतामा चित्त बुझाएको भोजपुरले नगद २५ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरेको छ । सेमिफाइनलमा पराजित भएका झापा र सुनसरीबीच तेस्रो स्थानका लागि भएको खेलमा झापा विजयी बनेको छ । तेस्रो भएको झापाले नगद १५ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्रथामिकतामा राखेको बताए । उनले प्रदेश १ लाई खेलकुदमा पनि अब्बल प्रदेशका रुपमा विकास गर्न लागि परेको भन्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार पछि नहट्ने प्रतिबद्धता जनाए ।
मन्त्री घिमिरेले यो वर्ष विभिन्न कारणले प्रदेशका ८ जिल्लाको मात्र सहभागिता भएकोमा आगामी वर्ष १४ वटै जिल्लाबाट सहभागिता गराएर डोरीतान खेल आयोजना गरिने बताए । उनले भने, ‘यो प्रदेशलाई खेलकुदको प्रदेशका रुपमा विकास गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन । खेलकुदकै विकासका लागि प्रदेश सरकारले प्रदेशका १ सय ३७ वटै स्थानीय तहमा खेल मैदान निर्माण गरिहेको छ ।’
कार्यक्रममा डेरी तान संघका केन्द्रीय उपाध्यक्ष डा. सुभाषश्री पोखरेलले पुरानो खेलमध्येको डण्डीबियो र डोरीतान नै नेपाली मौलिकतासँग जोडिएको खेल भए पनि राष्ट्रिय खेलकुद परिषदका कारण ओझेलमा परेको बताए । उनले पहिलो पटक प्रदेश सरकार आफैंले प्रदेश स्तरीय डोरीतान खेलको आयोजना गरेर यो खेलप्रति न्याय गरेको जनाए ।
उपाध्यक्ष डा. पोखरेलले ७७ वटै जिल्लामा संघ गठन गरेर यो खेललाई राष्ट्रिय हुँदै अन्तराष्ट्रिय स्तर सम्म पु¥याउन लागि परेको बताउँदै हाल २२ जिल्लामा संघ गठन भइसकेको जानकारी दिए । उनले प्रदेश १ का १० गाउँ तथा नगरपालिकाहरुमा संघ विस्तार भइसकेको बताए । नेपालमा १७ वर्षअघि डोरीतान केन्द्रीय समिति बनाएर डोरीतान खेललाई व्यावसायिकता दिन खोजिएको भए पनि राखेपले २ वर्षअघि मात्र समिति बनाएको पोखरेलले बताए ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६४० केजीकोे तौलमा सम्पन्न खेलको हरेक टिममा ८ जनाका दरले खेलाडी प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगितामा लागेको कुल खर्चमध्ये सामाजिक विकास मन्त्रालयले ८ लाख र मोरङ जिल्ला डोरीतान संघले ४७ हजार रुपैयाँ व्यहोरेको छ ।
प्रकाशित समय ०६:२० बजे





























