गृहपृष्ठ पोखरेलीहरुले खेलकुदका लागि छाक काटेर सहयोग गरेका छन् : मन्त्री विश्वकर्मा

पोखरेलीहरुले खेलकुदका लागि छाक काटेर सहयोग गरेका छन् : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा म्याराथन १४औं संस्करणमा पुग्नु सबैको मेहनतको प्रतिफल भएको बताएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले खेलकुदका लागि पोखरा उर्वर क्षेत्र रहेको बताए ।

उनले कठिन परिस्थितिहरुसँग जुझ्दै सुरु भएको पोखरा म्याराथनको इतिहास गर्विलो रहेको बताउँदै खेलकुदका अग्रज व्यक्तित्वहरुले गरेको प्रयासले भावी पुस्ताका लागि सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

पूर्वखेलाडीहरुको साझा संस्थाको रुपमा स्थापित मञ्च नेपाली समाजका लागि उदाहरणीय रहेको बताउँदै मन्त्री विश्वकर्माले भने, ‘२०५९ सालमा पोखरा रंगशालाको पर्खाल निर्माण गरेर मञ्चले खेलकुद क्षेत्रमा भावी पुस्ताका लागि गर्व गर्ने इतिहास कोरिसकेको छ ।’ उनले मञ्चको इतिहास दोहोर्‍याउँदै पोखरेलीहरुले आफ्नो छाक काटेर धेरै खेलकुदका पूर्वाधार निर्माण गरेको बताए ।

 १३औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापुर्वक रुपमा सम्पन्न गर्न पोखरेलीहरुले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै मन्त्री विश्वकर्माले अब हुने नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागि पूर्वाधार निर्माणमा जुट्ने बताए ।

गण्डकी प्रदेशमा खेलकुदका लागि प्राकृतिक रुपमै प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले यसको विकासका लागि प्रदेश सरकार र महानगरलाई एक साथ लैजाने बताए । उनले कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटनका साथै मनाङ र मुस्ताङमा हाई अल्टिच्यूड खेल मैदान निर्माण गर्न योजना अगाडि बढाइने बताए ।

मञ्चका अध्यक्ष तेज गुरुङले आगामी फागुन ३ गते हुने १४औं संस्करणको पोखरा म्याराथनमा विदेशी धावकहरुको आकर्षण बढाउन पुरस्कार राशिमा वृद्धि गरिने जानकारी दिए । उनले प्रथम, द्वितीय र तृतीयलाई क्रमश ३, २ र १ लाख नगद पुरस्कार दिइने बताए । उनले पोखरालाई ‘म्याराथन सिटी’को रुपमा परिचित गराउन मञ्चले गरेको प्रयासका लागि सहयोग गर्न सबैसमक्ष आग्रह गरे ।

प्रकाशित समय १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु