गृहपृष्ठ अर्थतन्त्रको आकारबराबर बैंकको निक्षेप
अर्थतन्त्रको आकारबराबर बैंकको निक्षेप
कुन बैंकको कति छ निक्षेप?
बैंक तथा वित्तीय संस्थाहरूले आक्रामक रूपमा आफ्नो कारोबार बढाएसँगै तिनीहरूले संकलन गर्ने निक्षेप देशको अर्थतन्त्रको आकारबराबर पुगेको छ । देशको अर्थतन्त्रलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा मापन गरिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७६ कात्तिक मसान्तसम्म बैंकिङ क्षेत्रले संकलन गरेको कुल निक्षेप रकम ३४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ, यो जीडीपीको ९९.३८ प्रतिशत हो । केन्द्रीय तथ्यांक विभागको अनुमानअनुसार आर्थिक वर्ष २०७५/७६ मा देशको जीडीपी ३४ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।
साउनदेखि यताको चौमासिक अवधिमा मात्र बैंकिङ क्षेत्रको निक्षेप ८९ अर्ब रुपैयाँले थपिएको छ । आर्थिक गतिविधिमा भएको विस्तारसँगै बैंकहरूको निक्षेप बढेको हो । अहिले देशका २७ वटा वाणिज्य बैंकहरूबीच गलाकाट प्रतिष्पर्धा छ ।
नाफाको दबाबमा रहेका बैंकहरूले आक्रामक ढंगले शाखा विस्तार गर्दै लगेसँगै हरेक शाखालाई कारोबार बढाउनका लागि तोकिएको लक्ष्यले गर्दा बैंकिङ निक्षेप बढेको हो ।
राष्ट्र बैंकका अनुसार अहिले सबै बैंक तथा वित्तीय संस्थामा गरी २ करोड ९२ लाख खाता खुलेका छन् । यसमा एकै व्यक्तिका दोहोरो–तेहेरो खाता र संस्थागत बैंक खाता कटाउँदा कुल जनसंख्याको ६१ प्रतिशतमा बैंकिङ सेवा पुगेको छ ।
कुल बैंकिङ निक्षेपमध्ये बचतमा १ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ जम्मा छ भने मुद्दती खातामा १ खर्ब ६१ अर्ब ५९ करोड रुपैयाँ जम्मा छ । यस्तै, चल्ती खातामा २६ अर्ब ८२ करोड, अल्प अवधिको ‘कल डिपोजिट’मा ४१ अर्ब ८९ करोड र अन्य खातामा ४१ अर्ब ९४ करोड रुपैयाँ जम्मा छ ।
राष्ट्र बैंकका अनुसार अहिले सबै बैंक तथा वित्तीय संस्थामा गरी २ करोड ९२ लाख खाता खुलेका छन् । यसमा एकै व्यक्तिका दोहोरो–तेहेरो खाता र संस्थागत बैंक खाता कटाउँदा कुल जनसंख्याको ६१ प्रतिशतमा बैंकिङ सेवा पुगेको छ ।
कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.७ प्रतिशत छ, अर्थात व्यक्तिगत रूपमा राखिएको निक्षेप ५५.३ प्रतिशत छ ।
कात्तिक मसान्तसम्म ‘क’ वर्गका वाणिज्य बैंकहरूले २९ खर्ब ७५ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने विकास बैंकहरूले ३ खर्ब ८८ अर्ब र वित्त कम्पनीहरूले ७८ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
कुन बैंकको कति निक्षेप?
राष्ट्र बैंकको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार निक्षेप र चुक्ता पुँजीका आधारमा ग्लोबल आईएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । हालै जनता बैंकसँग मर्जर प्रक्रिया पूरा भएपछि यो बैंकको कुल निक्षेपको आकार २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
निक्षेपका आकारले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा झरेको छ । रावा बैंकको कुल निक्षेप १ खर्ब ८९ अर्ब रुपैयाँ छ ।
यस्तै, तेस्रो स्थानमा एनआईसी एसिया बैंक छ । कात्तिक मसान्तसम्म एनआईसी एसियाको कुल निक्षेप १ खर्ब ८४ अर्ब ७४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको विवरणबाट देखिएको छ ।
निक्षेप आकारका हिसाल नबिल बैंक चौथो स्थानमा परेको छ । कात्तिक मसान्तसम्म नबिल बैंकको कुल निक्षेप १ खर्ब ७२ अर्ब ९७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको विवरणबाट देखिएको छ ।
यस्तै, प्रभु बैंकको निक्षेप १ खर्ब १४ अर्ब ७ करोड रुपैयाँ छ भने नेपाल एसबीआई बैंकको ९९ अर्ब ७० करोड, माछापुछ्रे बैंकको ९५ अर्ब ५२ करोड रुपैयाँ निक्षेप छ ।
यस्तै, नेपाल इभेस्टमेन्ट बैंक कुल निक्षेप १ खर्ब ५२ अर्ब ७१ करोड सहित पाँचौ स्थानमा, १ खर्ब २३ अर्ब ५६ करोडको निक्षेपसहित एनएमबी बैंक छैटौं स्थानमा छ ।
सातौंदेखि दसौं स्थानमा रहेका बैंकहरूमा एभरेष्ट बैंकको १ खर्ब ३५ अर्ब ६६ करोड, सिद्धार्थ बैंकको निक्षेप १ खर्ब २४ अर्ब ३७ करोड, कृषि विकास बैंकको निक्षेप १ खर्ब २२ अर्ब ९४ करोड, हिमालयन बैंकको निक्षेप १ खर्ब १९ अर्ब २२ करोड र नेपाल बैंकको कुल निक्षेप १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
यस्तै, प्रभु बैंकको निक्षेप १ खर्ब १४ अर्ब ७ करोड रुपैयाँ छ भने नेपाल एसबीआई बैंकको ९९ अर्ब ७० करोड, माछापुछ्रे बैंकको ९५ अर्ब ५२ करोड रुपैयाँ निक्षेप छ ।
यसैगरी, लक्ष्मी बैंकको ८८ अर्ब ८६ करोड, कुमारी बैंकको ८७ अर्ब ७९ करोड, प्राइम बैंकको ८८ अर्ब ९ करोड, मेगा बैंकको ८३ अर्ब २८ करोड, सनराइज बैंकको ८० अर्ब ३० करोड रुपैयाँ निक्षेप छ ।
निक्षेप परिचालनका हिसाबले अलि पुछारमा रहेका बैंकहरूमध्ये स्ट्यान्डर्ड चार्टर बैंकको ७६ अर्ब ४३ करोड र सिटिजन बैंकको ७६ अर्ब ८८ करोड रुपैयाँ, एनसीसी बैंकको ७२ अर्ब ६५ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकको विवरणबाट देखिन्छ ।
सबैभन्दा कम निक्षेप हुनेमा नेपाल बंगलादेश बैंक परेको छ, यो बैंकको कुल निक्षेप ५९ अर्ब ३८ करोड रुपैयाँमात्र छ ।
प्रकाशित समय १६:२९ बजे

















