गृहपृष्ठ ‘खेप’ले टिकेको फुटबल, नाम चलेका खेलाडी गाउँ-गाउँसम्म
‘खेप’ले टिकेको फुटबल, नाम चलेका खेलाडी गाउँ-गाउँसम्म
मोफसलका प्रतियोगिताले नयाँ प्रतिभालाई अवसर
फुटबल खेलाडी उत्पादनका लागि पूर्वी नेपाल उर्वर क्षेत्र मानिन्छ । समथर तराई होस् या पहाडको डाँडाकाँडा, सबैतिर फुटबलको क्रेज उस्तै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘क्यालेन्डर’मा परेका गोल्डकपबाहेक गाउँ-गाउँमा हुने प्रतियोगिताले नयाँ खेलाडीहरुलाई अवसर मात्रै सिर्जना गरेको छैन । फुटबलले व्यावसायिक रुप लिन थालेपछि खेलाडीहरुका लागि बाँच्ने आधारसमेत बनेको छ ।
नेपाली फुटबलमा व्यावसायिकताको कमी र नियमित रुपमा लिग सञ्चालन नहुँदा पूर्वतिरका खेलाडीको बाँच्ने आधार मोफसलको गोल्डकप र सीमावर्ती भारतमा हुने प्रतियोगिताको ‘खेप’ हो । दुई महिनाको लिगपछि धेरै खेलाडीको बाँच्ने आधार भनेको खेप हो । खेप अर्थात् खेल पारिश्रमिक ।
झापा, मोरङ, सुनसरी, इलामका खेलाडी खेपका भरमा चलेका छन् । विशेष गरी पूर्वी पहाडी जिल्लाहरुमा हुने गोल्डकपका साथै भारतको कोलकाता, असाम, पश्चिम बंगाल, कालिम्पोङ, दार्जिलिङ र सिक्किम लगायतका शहरमा हुने फुटबल प्रतियोगितामा खेप खेल्दै आएका छन् ।
भारत र नेपालको पूर्वी पहाडी जिल्लामा हुने प्रतियोगितामा खेल मैदान र रंगशालाको भौतिक संरचना उपयुक्त नभए पनि फुटबलप्रतिको क्रेजका कारण त्यस्ता ठाउँहरुमा समेत प्रतियोगिता सञ्चालन हुँदै आइरहेको इलामका खेलाडी प्रदिप विष्टले बताए । सोही खेलहरुकै कारण स्थानीय खेलाडीहरुले अवसर पाएको र मोफसलमा ‘चलेका खेलाडी’को परिवार धान्ने माध्यम पनि बनेको सुनसरीका खेलाडी रमेश राजवंशीले बताउँछन् ।

झन्डै ५ वर्षपछि लिग भए पनि त्यसपछि प्रतियोगिताको निरन्तरताको सम्भावना न्यून रहँदा खेप नै फुटबलमा टिक्ने आधार रहेको खेलाडीहरुको भनाइ छ । ‘खेपले आर्थिक पाटोमा मात्र राहत मात्र दिएको उनीहरूको खेल जीवनलाई पनि निरन्तरता दिएको छ,’ झापाका खेलाडी सरोज कार्कीले भने, ‘साना प्रतियोगिताका दौरान भएका इन्जुरीले भने ठूला र प्रतिष्ठित प्रतियोगिताका लागि समस्या सृजना गर्दै आएको छ ।’
पूर्वमा एक दर्जन हाराहारी गोल्डकप आयोजना हुन्छन् । योबाहेक साना र भारतमा हुने प्रतियोगिताको संख्या पनि धेरै छन् । जसमा एउटा क्लबमा देखिएको खेलाडी अर्को प्रतियोगितामा अर्को क्लबबाट खेलेको भेटिन्छ । नाम चलेका खेलाडीहरूसमेत यस्ता प्रतियोगिता खेल्न गाउँ-गाउँसम्म पुग्ने गरेका छन् ।
धेरैजसो प्रतियोगिताको मिति जुध्दा यस्ता खेलाडीहरुलाई समस्या पर्ने गरेको उनीहरु बताउँछन् । एन्फाले फुटबलको विकासका लागि सीमित समयमा आयोजना गरिएका गोल्डकपहरु जुधाउनुभन्दा पनि वर्षभरि नै चलायमान बनाउनुपर्ने सुनसरीका खेलाडी निशान लिम्बूले बताए ।

नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर देवेन्द्र तामाङ, झापाका कर्ण लिम्बु, योगेश गुरुङ, विशाल राई, दिलेन लोक्ताम, एञ्जल गुरुङ, निरोज बस्नेत लगायतका खेलाडीहरु फुटबलमा खेपकै कारण टिकेका छन् । उनीहरुबाहेक पूर्वमा विभिन्न स्थानमा हुने प्रतियोगितामा विभिन्न क्लबहरुबाट फुटबल खेल्ने खेलाडीहरु पनि धेरै छन् ।
मोफसलमा चलेका खेलाडीको आर्थिक उपार्जनको मुख्य स्रोत र नियमित अभ्यास नै नेपाल र भारतको विभिन्न स्थानमा हुने प्रतियोगिता बनेको जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगीरथ आलेले बताए । यस्ता प्रतियोगिताहरुले फुटबलको माहाैलसमेत सिर्जना गरेको उनको भनाइ छ ।
विभागीयबाहेक ’ए’ डिभिजनका क्लबहरुले प्रतियोगिता दौरान खेलाडीहरुलाई खेल पारिश्रमिकअनुसार सहभागी गराउँछन् । मोफसलको सफल क्लबको रुपमा रहेको झापा– ११ ले समेत सबै खेलाडी अनुबन्धन गरेको छैन । यसरी क्लबहरुले खेलाडीलाई कम्तीमा एक वर्ष पनि अनुबन्धन नगर्दा वर्षभरि खेलेर बाँच्ने वातावरण बनेको छैन ।

प्रकाशित समय १३:०८ बजे
















