गृहपृष्ठ प्रदेश सरकारद्वारा ८८ खेलाडीलाई ८० लाख नगद पुरस्कार प्रदान
प्रदेश सरकारद्वारा ८८ खेलाडीलाई ८० लाख नगद पुरस्कार प्रदान
प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । यसअघि गरेको घोषणाअनुरुप बुधबार प्रदेश सरकारले खेलाडीहरुलाई सम्मान गरेको हो ।
विजेता खेलाडीहरुको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले आज उपलब्ध खेलाडीहरुलाई सम्मानसमेत गरेको हो । सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए । कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कारसहित सम्मान गरेको हो । पदक प्राप्त खेलाडीहरुलाई ८० लाख नगद उनीहरुकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरुले प्रदेश सरकारले गरेको सम्मानबाट आफूहरुको खेल क्षेत्रमा हौसला बढेको बताए ।
खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताए । खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको छ, मुख्यमन्त्री राईले भन्नुभयो हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौं । तेह्राैं दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता प्रदेश नं १ का खेलाडीहरुको सम्मानमा प्रदेश सरकार प्रदेश नं १ को तर्फबाट आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा आज बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

खेलाडीहरुले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको मुख्यमन्त्री राईले बताए । उनले साग प्रतियोगितमा प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरुले देशको साथै प्रदेशको शान बढाएको बताए । प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको बताए । उनले भने, ‘खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गरिएको छ । खेलाडीहरुलाई व्यवसायिक ढंगबाट अगाडि बढ्नसमेत म आग्रह गर्दछु । तपाईहरुप्रति सरकारले ठूलो आशा, भरोसा राखेको छ, खेलकुद क्षेत्र अब छाँयामा पर्दैन ।’ खेलकुद क्षेत्रमा राजनीतिकरण गर्नु नहुने उनको धारणा थियो ।
प्रकाशित समय १८:५८ बजे
















